हिमालय एअरलाइन्सले काठमाडौंबाट चीनको हाङझाउमा सिधा उडान शुरु गर्ने भएको छ । काठमाडौंबाट हाङझाउ सिधा उडान गरेर एअरलाइन्सले आफ्नो क्षेत्रीय सञ्जाल विस्तारको तयारी गरेको हो । एअरलाइन्सका अनुसार सेप्टेम्बर ३० देखि सो रुटमा नियमित उडान शुरु हुनेछ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुईपटक सिधा उडान हुने एअरलाइन्सले जानकारी दिएको छ । हाङझाउका लागि काठमाडौंबाट प्रत्येक आइतबार र बुधबार जहाज प्रस्थान गर्नेछ भने हाङझाउबाट सोमबार र बिहीबार फर्किनेछ ।
यात्रुले एअरलाइन्सको बेभसाइट वा मोबाइल एपबाट टिकट काट्न सक्नेछन् । नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको एअरलाइन्सले हाङझाउसम्मको उडान महत्वपूर्ण कोशेढुंगा भएको जनाएको छ ।
मुलुकको पर्यटन तथा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय यात्रालाई सहज बनाउन समर्पित हिमालय एअरलाइन्सले आफ्नो सञ्जाल विस्तारलाई जारी राखेको छ ।
