काठमाडौं म्याराथनको १८ औं संस्करण असोजको चौथो साता हुने भएको छ । ‘रन टु रिब्युल्ड नेपाल’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यस वर्षको प्रतियोगिता असोज २४ मा हुनेछ र यसमा अहिलेसम्म सात हजारभन्दा बढी धावकले नाम दर्ता गरिसकेका छन् ।
आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनका अनुसार प्रतियोगितामा १ सयभन्दा बढी विदेशी धावकको सहभागिता रहनेछ । यस वर्ष म्याराथनले काठमाडौं उपत्यका ट्राफिक प्रहरीसँगको सहकार्यमा ‘ट्राफिक नियम पालना गरौं, जीवन बचाऔं’ भन्ने सन्देशलाई विशेष रूपमा प्रवर्द्धन गर्ने भएको छ ।
सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘दुर्घटनाबाट जोगिऔं’ भन्ने सन्देशसमेत म्याराथनमार्फत जनसमुदायसम्म पुर्याइनेछ । मुख्य म्याराथन स्पर्धामा पाँच सय धावक सहभागी हुनेछन्, त्यसमा २७ महिला रहेका छन् । प्रतियोगितामा १९ देशका अन्तर्राष्ट्रिय धावक सहभागी हुनेछन् ।
सिद्धार्थ बैंक यस दौडको मुख्य प्रायोजक रहेको छ । यसपल्ट विभिन्न विधामा गरेर कुल ९ लाख ७२ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिनेछ । म्याराथन खुलातर्फ पुरुष र महिला दुवैमा प्रथम हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
