भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रस्तावमा संसदीय विशेष समिति गठन गरिएको हो । समितिमा ८ सदस्य चयन गरिएका छन् भने एक सदस्य पछि थप गरिने बताइएको छ । समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्माको नाम घोषणा गरिएको थियो ।
अध्यक्ष दाहालले समितिको घोषणा गर्ने क्रममा भोटेकोशी र कालीगण्डकीमा आएको विपदको अध्ययन गर्नका लागि संसदीय विशेष समिति गठन गरिएको बताए । ‘भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत गोरखा, चितवन, नवलपरासी पूर्व र पश्चिम जिल्लामा ठूलो जनधनको क्षति भएको छ,’ उनले भने ।
अध्यक्ष दाहालले उक्त समितिले असोज ९ देखि ११ गतेसम्म कालीगण्डकी नदीमा आएको बाढीको पनि अध्ययन गर्ने बताए । सदन र सभाका बैठकमा सांसदले गरेको मागअनुसार संसदीय विशेष समिति गठन गरिएको उनको भनाइ थियो ।
संसदीय विशेष समितिलाई छिमेकी देशहरूसँग विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनर्स्थापनामा सहकार्य गर्दै विपद् आउनुअघि नै जोखिमको सूचना उपलब्ध गराउने भरपर्दो, वैज्ञानिक र आधुनिक पूर्वसूचना प्रणाली तथा प्रविधिको विकास र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संयन्त्र निर्माणको लागि सुझाव दिने, विषयगत विज्ञहरूसँग अन्तरक्रिया गरी विपद्को कारण, जोखिम तथा दीर्घकालीन प्रभावको वैज्ञानिक विश्लेषण गर्दै जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने कार्यादेश दिइएको छ ।
समितिको कार्यादेशबारे अध्यक्ष दाहालले थपे, ‘यस्ता विपद्बाट प्रभावित छिमेकी राष्ट्रहरूसँग अनुभव, प्रविधि, सूचना तथा स्रोतसाधन आदान प्रदानका लागि सहकार्यको उपयुक्त मोडालिटी विकास गर्नेबारे अध्ययन गर्ने ।’
भोटेकोशी बाढीबारे अध्ययन गर्नका लागि प्रतिनिधिसभाले पनि संसदीय विशेष समिति गठन गरेको छ । उक्त समिति १५ सदस्यीय रहेको छ ।

