बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आइतबार आरएएफ एयरबेसमा भएको शंकास्पद सुरक्षा जोखिममा इरान संलग्न भएको हुनसक्ने बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्री बर्नहमले दक्षिणपश्चिम इंग्ल्यान्डस्थित ‘आरएएफ फेयरफोर्ड’ मा भएको घटनामा इरान संलग्न भएको हुनसक्ने संकेत भेटिएको बताए । अमेरिकी सेनाले इरानविरुद्धको कारबाहीमा प्रयोग गर्दै आएको सोही एयरबेस नजिक आइतबार बम आक्रमणको असफल प्रयास भएको थियो ।
‘यो एक गम्भीर र जटिल प्रहरी अनुसन्धानको विषय हो । हामीले बिना प्रमाण केही भन्नसक्ने अवस्था थिएन । तर, यसमा इरानको यसमा संलग्नता रहेको हाम्रो आशंकालाई पुष्टि गर्न सक्छौं,’ उनले भने ।
यसअघि लन्डनस्थित इरानी दूतावासले घटनामा आफ्नो कुनै भूमिका नरहेको बताएको थियो । त्यस्तै, इरानी विदेशमन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै बेलायती प्रधानमन्त्री गलत बाटोमा हिँडिरहेको (गलत आरोप लगाएको) प्रतिक्रिया दिएका थिए ।
मंगलबार प्रहरीले घटनास्थलमा कुनै पनि किसिमका विष्फोटक पदार्थ फेला नपरेको जनाएको थियो । यद्यपि, यस विषयमा प्रहरीले बिस्तृतमा खुलाएको छैन ।
आइतबार बिहान सबेरै आरएएफ फेयरफोर्डतर्फ तीनवटा सेतो भ्यान र मास्क लगाएका केही संदिग्ध व्यक्तिहरू गइरहेको देखिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीले पाँच जना बेलायती पुरुषलाई पक्राउ गरेको थियो ।
तीन दिनसम्म बम डिस्पोजल टिमसहितको टोलीले गरेको अनुसन्धानपछि प्रहरीले मंगलबार ती सवारीसाधनहरूमा विष्फोटक पदार्थ नभेटिएको जनाएको थियो । तर केही मात्रामा ’पेट्रोल’ फेला परेको प्रहरीले जनाएको थियो । पक्राउ परेका ती पाँचै जनालाई मंगलबार प्रहरीले धरौटीमा छाडेको छ ।
त्यसलगत्तै, बुधवार द टाइम्स पत्रिकाले ती पाँच संदिग्धमध्ये एक जनाले नै प्रहरीलाई सुराक दिएर योजना असफल बनाइदिएको समाचार प्रकाशित गरेको थियो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गुप्तचर निकायहरूलाई संदिग्धहरूबारे जानकारी रहेको बताएका थिए । उनीहरुले यस आक्रमणमा विदेशी राष्ट्रको हात हुन सक्ने संकेत गरेका थिए ।
बेलायतले अमेरिकालाई इरानविरुद्धको रक्षात्मक कारबाहीका लागि आरएएफ फेयरफोर्ड एयरबेस प्रयोग गर्न अनुमति दिएसँगै इरान रुष्ट बनेको थियो । इरानले लन्डनलाई अमेरिकी सेनाका लागि आफ्ना सैन्य अखडाहरू प्रयोग गर्न नदिन चेतावनी दिदैं आएको थियो । एएफपी
