बङ्गलादेशी दूतावासले सोमबार काठमाडौँमा आँप महोत्सव आयोजना गरेको छ । ‘बङ्गलादेश म्याङ्गो डेलिकेसी’ शीर्षकमा भएको महोत्सवमा बङ्गलादेशी आँपको समृद्ध विरासत, उत्कृष्ट गुणस्तर र विविध स्वादको प्रवर्धन गरिएको थियो ।
प्रमुख अतिथि तथा सार्क सचिवालयका महासचिव मोहम्मद गुलाम सरवरले सम्भावना हुँदाहुँदै पनि बङ्गलादेशबाट अन्तर्राष्ट्रिय बजारमा आँप र यसबाट बनेका प्रशोधित उत्पादनको निर्यात नगण्य रहेको औँल्याए । परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीले महोत्सवले आँप कूटनीतिमार्फत बङ्गलादेशका राजदूतले अघि सारेको यस नवीन पहलको सराहना गर्दै दुई देशबिच न्यानोपन र मित्रताको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।
नेपालका लागि बङ्गलादेशका राजदूत सफिकुर रहमानले बङ्गलादेशमा आँप केवल एउटा फल मात्र नभई संस्कृति, विरासत, परम्परा र कृषि अर्थतन्त्रको अभिन्न अङ्ग भएको प्रस्ट पार्दै त्यहाँ उत्पादन हुने खिरसापत, हरिभङ्गा, लङ्गडा, फजली, गोपालभोग, आम्रपाली, अश्विना, बनाना म्याङ्गो, काटिमन, गौरमोती, बारी जस्ता प्रख्यात जातका आँप असाधारण मिठास, विशिष्ट सुगन्ध, उत्कृष्ट गुणस्तरसँगै पोषणयुक्त हुने गरेकाे बताए । महोत्सवमा उपस्थित विभिन्न क्षेत्रका अतिथिले प्रदर्शित आँपको रसास्वादन गरेका थिए ।
