कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गुँड बनाएर बिहान, साँझ चिर्बिराउने गौँथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन् ।
परम्परागत माटोका घरको स्थान पक्की भवनले लिन थालेपछि गुँड बनाउन उपयुक्त स्थान घट्दै गएको छ भने विषादीको बढ्दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौँथलीको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१०, गोलौरीका स्थानीय चन्द्रजित चौधरीका अनुसार केही दशक अघिसम्म गाउँका अधिकांश घर माटोका भएकाले गौँथलीले घरका भित्ता, छानामुनि र बैठक कोठाको कुनाकाप्चामा सहजै गुँड बनाउने गर्थे । तर अहिले आधुनिक पक्की घर निर्माण बढ्दै जाँदा उनीहरूका लागि सुरक्षित बासस्थानै अभाव हुन थालेको छ ।
उनले भने , “पहिले हरेक गाउँमा गौँथलीका गुँड देखिन्थे । पछिल्ला दिनमा गाउँभरि पक्की घर बने । अहिले गुँड बनाउन ठाउँ नपाउँदा यी चरा गाउँघरबाट हराउन थालेका छन् ।”
गौँथलीले माटो, पराल, सुक्खा घाँस, साना हाँगा, कपास र प्वाँख प्रयोग गरेर मजबुत गुँड बनाउने गर्छन् । घरको भित्ता, छानामुनिका प्वाल, रुखका खोच र मानिसको बसोवासनजिकका सुरक्षित स्थान यसको रोजाइमा पर्ने गर्छन् । चौधरीका अनुसार उनको घरमा अहिले पनि केही गौँथलीले गुँड बनाउने गरेका छन् । बिहान र साँझ घरवरिपरि उनीहरूको चिर्बिराहट सुन्न पाउँदा गाउँको पुरानो वातावरण सम्झने अवसर मिल्ने उनले बताए ।
उनका अनुसार पहिले गाउँघरमा गाँैथलीले गुँड बनाएको घरलाई शुभ मान्ने चलनसमेत थियो । अहिले भने गाउँभरि सहजै देखिने यी चरा विरलै भेटिन थालेका छन् ।
गौँथली सौन्दर्य बढाउने चरा मात्र नभई कृषिकर्मका लागि पनि उपयोगी मानिन्छ । बालीमा लाग्ने हानिकारक किरा खाएर प्राकृतिक रूपमा किरा नियन्त्रण गर्ने भएकाले यसले किसानलाई प्रत्यक्ष लाभ पुर्याउने चौधरीको अनुभव छ । वातावरणीय सन्तुलन कायम राख्न पनि गौँथलीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
तर पछिल्ला वर्षमा पक्की घर विस्तार, गुँड बनाउन मिल्ने स्थान कमी, खेतबारीमा अत्यधिक विषादी प्रयोग, वातावरणीय प्रदूषण र खाद्यान्न स्रोत ह्रासका कारण गौँथली लगातार घट्दै गएको उनले बताए । गौँथली संरक्षणका लागि आफूले घरको आँगनमा दाना र पानी राख्ने गरेको उल्लेख गर्दै उहाँले चरामैत्री वातावरण निर्माणमा सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिए ।
डिभिजन वन कार्यालय दाङ (देउखुरी) का वन व्यवस्थापन शाखाका वरिष्ठ फरेस्टर चिरञ्जीवी खनालले गौँथली संरक्षणका लागि परम्परागत बासस्थान जोगाउनु, कृषिमा विषादी प्रयोग घटाउनु र गाउँघरलाई चरामैत्री बनाउन आवश्यक रहेको बताए ।
उनले भने , “पहिला गाउँघरमा गौँथली प्रशस्त देखिन्थे । तर अहिले पक्की घर बढ्दै जाँदा गुँड बनाउन मिल्ने स्थान अभाव भएको छ । त्यसैले गाँैथलीले गाउँ छाड्दै गएका छन् । कृषिमा हानिकारक किरा नियन्त्रण गरी वातावरणीय सन्तुलन कायम राख्ने यस्ता चरा संरक्षण आजको आवश्यकता हो ।”
सरोकारवालाले गौँथली संरक्षणका लागि स्थानीय समुदाय, किसान र सम्बन्धित निकायबिच समन्वय आवश्यक रहेको बताएका छन् । बासस्थान संरक्षण, रासायनिक विषादी प्रयोग न्यूनीकरण तथा चरामैत्री वातावरण निर्माण गर्न सके गौँथलीलाई पुनः गाउँघरमा फर्काउन सकिने उनीहरूको विश्वास छ ।
