मधेस प्रदेशका अधिकांश स्थानका किसान धान रोप्न वर्षाको प्रतीक्षा गरिरहेका बेला धनुषा र सिरहामा कमला नहरबाट सिँचाइ सुविधा पुगेको क्षेत्रका किसान भने धमाधम धान रोपाइँमा जुटेका छन् । धनुषाको पोर्ताहामा रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयले कमला सिँचाइ नहरमा पानी प्रवाह गरेपछि त्यस क्षेत्रका किसान धान रोपाइँमा जुटेका हुन् ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयले असार १३ गतेदेखि नै धनुषातर्फको पश्चिमी नहर र सिरहातर्फको पूर्वी नहरमा सिँचाइका लागि पानी प्रवाह गर्दै आएको छ । कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रणधीरकुमार साहले विगतमा प्रत्येक वर्ष साउन १ गतेदेखि मात्र नहर सञ्चालन गर्ने गरिएको भए पनि किसानको आवश्यकतालाई ध्यानमा राख्दै समयअगावै नहरमा पानी प्रवाह गरिएको बताए ।
उनका अनुसार धनुषाको पश्चिमी नहरबाट १२ हजार पाँच सय हेक्टर र सिरहाको पूर्वी नहरबाट १२ हजार पाँच सय हेक्टर गरी २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । पछिल्ला वर्षमा साना पैनी र सहायक नहरको विस्तारपछि अहिले करिब ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उनले जानकारी दिए ।
धनुषातर्फ पश्चिमी नहर प्रणालीमार्फत गणेशमान चारनाथ, सबैला, सहिदनगर, विदेह, कमला, हँसपुर, औरही र जनकनन्दनी गरी आठ स्थानीय तहमा सिँचाइ सुविधा पुगेको छ । यस्तै सिरहातर्फ पूर्वी नहर प्रणालीमार्फत कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र औरही गरी आठ स्थानीय तहमा सिँचाइ सुविधा उपलब्ध रहेको छ । आयोजनाअन्तर्गत दुवै जिल्लामा मुख्य तथा सहायक नहर गरी पाँच सय किलोमिटरमा नहर सञ्जाल विस्तार रहेको कार्यालय प्रमुख साहको भनाइ छ ।

कार्यालय प्रमुख साहले दुवै मुख्य नहरमा समान रूपमा प्रतिसेकेन्ड १४ हजार लिटरका दरले पानी प्रवाह भइरहेको बताए । उनले यसका साथै यसै कार्यालय मातहत रहेको हर्दिनाथ सिँचाइ योजनाबाट दुई हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको जानकारी दिदै सिँचाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन किसानको सहभागितामा थुप्रै स्थानमा जल उपभोक्ता समितिसमेत गठन गरिएको बताए ।
नेपालका ठूला सिँचाइ आयोजनामध्ये एक मानिने कमला सिँचाइ आयोजनाको शिलान्यास वि.सं. २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले गर्नुभएको थियो । आयोजनाले वि.सं. २०४० देखि नियमित रूपमा सिँचाइ सेवा प्रदान गर्न थालेको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका किसान रामपुकार यादवले कमला नहर प्रणालीमार्फत सिँचाइ सुविधा पुगेको क्षेत्रमा धमाधम धान रोपाइँ भइरहेको बताए । उनले नहरमा पानी प्रवाह भएपछि धानखेतीका लागि समस्या नहुने जानकारी दिए ।
किसान यादवले अघिल्लो वर्षजस्तै यस वर्ष पनि पर्याप्त वर्षा नभए पनि खेतसम्म सिँचाइ सुविधा पुगेकाले धान रोप्न थालेको सुनाउदै भने कमला नहर पुगेका क्षेत्रमा किसानले धमाधम रोपाइँ गरिरहेका छन् । नहर नपुगेका स्थानमा भने डिप ट्युबवेल, इनारमा विद्युतीय मोटरको सहयोगमा सिँचाइ गरेर रोपाइँ भइरहेको छ । सिँचाइको कुनै व्यवस्था नभएका किसान भने अझै आकाशे पानीको प्रतीक्षामा छन् ।
सोही क्षेत्रका किसान बलि शर्माले विगतका वर्षमा नहरमा ढिलो पानी आउने गरे पनि यस पटक समयमै पानी प्रवाह भएकाले धान रोप्न सहज भएको बताउदै भने नहर आसपासका अधिकांश खेतमा अहिले सिँचाइको समस्या रहेको छैन ।
कृषि विकास निर्देशनालय मधेस प्रदेशले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असार १९ गतेसम्म धनुषामा ४३ हजार सात सय हेक्टर धान खेतीयोग्य जमिनमध्ये छ हजार पाँच सय ५५ हेक्टर अर्थात् १५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । त्यस्तै समग्र प्रदेशका आठवटै जिल्लामा तीन लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ५९ हजार ८९५ दशमलव ०६ हेक्टरमा धान रोपाइँ भएको छ । कुल धान खेतीयोग्य जमिनमध्ये १४ दशमलव ७३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो ।
