भदौ १० गते बिहान रसुवाको भोटेकोशी हुँदै आएको लेदोसहितको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । हिमताल फुटेर आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनसम्म क्षति पुर्याएको छ । मानव बस्ती बगर बनेको छ । बाढीले विस्थापित लाखौं पीडित अब त्यहीं फर्किने अवस्था छैन । होल्डिङ सेन्टरमा आश्रय लिइरहेकाहरू लाई पुनःस्थापना गराउनुपर्ने अर्को चुनौती छँदै छ ।
बाढीमा मृतकको संख्या डेढ हजार पुग्न लागिसकेको छ । सरकारी तथ्याङ्कअनुसार बेपत्ताको संख्या चार हजार बढी छ । प्रश्न उठ्छ–के यो तथ्याङ्क सही छ ? सरकारी निकायसँग भएको यो तथ्याङ्क नै आधिकारिक हो कि त्यसमा अन्य नागरिक छुटेका छन् ? रसुवा पछिल्लो समय सबैभन्दा लोकप्रिय टुरिस्ट डेस्टिनेशनमध्ये एक हो ।
युवादेखि बूढासम्म रसुवा घुम्न जान रुचाउँछन् । झन् प्रेमिल जोडीहरूको त डेटिङ्ग स्पट नै हो, रसुवा । बुवाआमालाई सुइँको नदिईकन माया साटासाट गर्न रसुवा पुगेका कति जोडी बेपत्ता भए होलान् ? श्रीमानको आँखा छलेर र श्रीमतीलाई ढाँटेर पर नाता लाग्नेसँग रमाउन त्यता गएकाहरू कति हराएका होलान् ? यसको तथ्याङ्क सरकारसँग छैन ।
२०७२ सालको महाभूकम्पमा उद्दारका लागि खटिएका प्रहरीहरूले गाउँमा रहेकी श्रीमतीलाई भग्नावशेष घरले च्यापिएको अवस्थामा गोंगबु बसपार्कमा फेला पारेका थिए । बाबुआमा र केटाकेटी स्याहार्दै होलिन् भन्ठानेको श्रीमतीलाई परपुरुषको अंगालोमा मृत देख्दा उनी झस्किए पनि । विदेशमा रहेका श्रीमानको आँखा छलेर त्यसरी घुम्न पुग्नेको डाटा खोइ ?
उनीहरूको पनि अत्तोपत्तो छैन । पूर्व कानुनमन्त्री तथा न्यायाधीश अनिलकुमार सिन्हाका आफन्त र साथीहरु पनि कैलाशनाथ जान लाग्दा सम्पर्कविहिन छन् । धनकुटाको डाँडागाउँकी एक जना राई थरकी युवती रोजगारीका लागि क्यानाडा गएकी थिइन् । त्यहाँबाट फर्केर फेरि त्यहीँ जाने तयारी गरिरहेकी थिइन् । बीचमा रसुवामा जागिर खाइन् । उनी पनि लापत्ता छिन् । सयौंको संख्यामा विदेशीहरु त्यसरी नै हराइरहेका छन् । क्यानाडा, अमेरिका, भारत, पोर्चुगल, दक्षिण कोरिया, साउथ अफ्रिका, स्पेनलगायत दर्जनौं देशका नागरिक बेपत्ता छन् । अझ रोचक त के भने, युद्धग्रस्त युक्रेनका नागरिक पनि हराएका छन् ।
त्रिशूली हुँदै गोसाइँकुण्ड गएका कति बेपत्ता भए ? सरकारले नै ठम्याउन सक्ने स्थिति छैन । अध्यागमन कार्यालयबाट स्वीकृति लिएर गएकाबाहेक हराएको हरायै हुनेहरु थुप्रै छन् । टिमुरे, स्याफ्रुबेशी पूरै बगाएकाले होटलमा बसेकाहरुको विवरण छैन । त्यसरी बेपत्ता भएकाहरू सरकारको डाटामा समावेश नहुने अवस्था छ । सरकारसँग आधिकारिक डाटा हुँदैन । जतिको शव भेटियो, भेटियो, अरु त लापत्ता नै हुन् । उनीहरू बाँचे कि मरे, परिवारले कहिल्यै थाहा पाउँदैनन् ।
