सन् २०१५ मा रुसमा सैन्य ब्यारेक भत्किँदा आफ्ना दुवै खुट्टा गुमाएका रुसी पूर्वसैनिक रुस्तम नबिएभले दुई हातको बलमा संसारकै अग्लो शिखर सगरमाथा चढेर ‘पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान’ रच्दै विश्वलाई चकित पारेका छन् ।
रुस्तम सगरमाथा आरोहण इतिहासकै पहिलो यस्ता व्यक्ति हुन्, जो आफ्ना दुवै गोडा नभए पनि केवल हातको सहाराले सगरमाथाको चुचुरोमा पुग्ने सफल भए । उनले आफ्नो ३४ औं जन्मदिनको अवसर पारेर यसपटक सगरमाथा आरोहण सुरु गरेका थिए ।
सामान्य आरोहीका लागि ३-४ दिनको सगरमाथा आरोहण यात्रामा उनले करिब एक साताको कडा मेहनतपछि सफलता पाए । खुम्बु आइसफल जस्तो खतरनाक खण्डमा जडान गरिएका मेटलका भर्याङ हातको बलले पार गर्दै गरेको रुस्तमको भिडियो यतिबेला भाइरल भइरहेको छ ।
कम्मरमुनिको भाग नभएका उनले बुधबार बिहान सगरमाथा आरोहण गरेका हुन् । उनको सफलताबारे विश्वका मिडियाले स्पेस दिएका छन् । महिलातर्फ सर्वाधिक सगरमाथा आरोहण गरेर इतिहास रचेकी नेपाली पर्वतारोही लाक्पा शेर्पाले रुसका पूर्वसैनिक रुस्तमको यो अभूतपूर्व कदम शारीरिक सीमिततामाथि मानवीय इच्छाशक्तिको विजयको एउटा अनुपम उदाहरण भनेकी छन् ।
सन् २०१० मा घुँडामुनिका दुवै खुट्टा अफगानिस्तानको लडाइँमा गुमाएका रोल्पाका पूर्व गोरखा सैनिक हरि बुढामगरले २०८० जेठमा कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले डबल एम्प्युटी एभोब नी विधामा सगरमाथा आरोहणको रेकर्ड बनाएका थिए । रुस्तमले यो रेकर्डलाई उछिनेका छन् ।
सगरमाथा आरोहणपछि काठमाडौं फर्किएका रुस्तम मगंलबार बिहान टर्किस एयरलायन्सबाट इस्नातबुल हुँदै घर फर्किएका छन् । त्ययसअघि कान्तिपुरलाई अन्तर्वार्ता दिँदै उनले सामान्य पर्वतारोहीका लागि पनि सगरमाथाको आरोहण शरीर र दिमागको अन्तिम परीक्षा जस्तै भएको बताए । हातको भरमा अघि बढ्ने आफ्ना लागि भने प्रत्येक मिटरको दुरी ठूलो युद्धसरह भएको उनको भनाइ छ । सफल थियो, जुन मैले १५ घण्टा लगाएर पार गरेँ । एक सामान्य आरोहीका लागि यो कति कठिन हुन्छ, तपाईं आफै अनुमान लगाउन सक्नुहुन्छ । दोस्रो कठिन चरण क्याम्प ३ बाट क्याम्प ४ सम्मको यात्रा थियो । जहाँ मलाई १४ घण्टाभन्दा बढी समय लाग्यो ।’
रुस्तम जेठ ६ गते बिहान ८:१६ बजे (नेपाली समयअनुसार) विश्वको सर्वोच्च शिखर पुगेका थिए। तर, धेरैले सोचेजस्तो शिखरमा पुग्नु मात्रै सफलता होइन, त्यहाँबाट सुरक्षित रूपमा तल ओर्लनु अझ बढी खतरनाक थियो ।
‘ओरालो यात्रा सधैं सबैभन्दा कठिन मानिन्छ । किनकि धेरैजसो आरोहीको मृत्यु ओर्लने क्रममै हुने गर्छ,’ रुस्तमले भने भने, ‘मैले उक्लने कार्यलाई भन्दा ओर्लने कार्यलाई बढी महत्त्व र ध्यान दिएको थिएँ । खुट्टा नभएका कारण ओरालो झर्नु शारीरिक र मानसिक दुवै रूपमा निकै कष्टकर हुन्छ । हिउँको भित्ता र चट्टानमा शरीरलाई सन्तुलनमा राख्न र चिप्लन नदिन लगातार हातले आफूलाई रोकेर राख्नुपर्थ्यो । यसले शरीरमा निकै ठूलो र निरन्तर तनाव पैदा गर्थ्यो ।’
रुस्तमको प्रत्येक चालमा निकै सावधानी आवश्यक थियो । शारीरिक कष्ट त छँदै थियो । मनमा स्वास्थ्यलाई लिएर पनि उत्तिकै डर थियो । ‘हातको भरमा हिँड्नु मानव शरीरका लागि प्राकृतिक कुरा होइन । त्यस्तो उचाइमा शरीरमा जे पनि हुन सक्थ्यो, त्यसैले मैले यी जोखिमलाई सधैं आफ्नो दिमागमा राखिरहेँ ।’
‘सगरमाथापछि अब के ?’ प्रश्नमा उनले भने, ‘सात महादेशका ७ शिखर ।’
नेपालमा मेरापिक र मनास्लुको उनले यसअघि नै आरोहण गरिसकेका छन् । यसपटक रुस्तमका लागि सगरमाथा तेस्रो ठूलो सफलता हो।
तर, यी एथलिटको सपना हिमालयमा मात्रै सीमित छैन । उनको मुख्य लक्ष्य संसारकै प्रतिष्ठित ‘सेभेन समिट्स’ (सात महाद्वीपका सातवटै अग्ला शिखर) को आरोहण पूरा गर्नु हो । अब उनलाई उत्तर अमेरिका र अस्ट्रेलिया/ओसिनियाका गरी तीनवटा शिखर मात्र चढ्न बाँकी छ । सैन्य सेवामा कार्यरत छँदा उनी प्याराजम्पर थिए । सन् २०१५ मा सैनिक ब्यारेकमा भव ढल्दा भएको दुर्घटनामा उनले दुवै खुट्टा गुमाएका हुन् ।
‘किन ७ महादेशका हिमाल नै रोजेको ?’ कान्तिपुरको प्रश्नमा उनले भने, ‘किनभने पर्वतारोहणमा यो मेरा लागि वास्तविक र प्राप्त गर्न सकिने लक्ष्य हो । संसारका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने योजना मेरो लागि निकै कठिन छ । किनकि प्रत्येक आरोहणले मेरो स्वास्थ्यमा ठूलो असर पुर्याउँछ र मलाई निकै लामो समयसम्म आराम र रिकभरीको आवश्यकता पर्छ ।’
यी कीर्तिमानका पछाडि एउटा गहिरो सामाजिक सन्देश पनि लुकेको छ । रुस्तम जोड दिँदै भन्छन् कि उनको यो उदाहरण जीवनको कठिन परिस्थितिबाट गुज्रिरहेका संसारका हरेक व्यक्तिका लागि हो । ‘मेरो सन्देश केवल अपांगता भएका व्यक्तिहरूका लागि मात्र होइन । संसारका हरेक मानिसका लागि हो । हामी सबैले आफ्नो जीवनमा कुनै न कुनै समयमा कठिन परिस्थितिको सामना गर्नुपर्छ ।’ मानिस जबसम्म जीवित रहन्छ, तबसम्म उसले आफ्नो अवस्थालाई बदल्न सक्ने उनी बताउँछन् ।
‘यदि तपाईं लड्नुभयो भने पनि पुनः उठ्न सम्भव छ । मानिसले आफ्नो जीवनको सर्वोच्च शिखर चुम्न सक्छ, त्यो शिखर हिमालकै हुनुपर्छ भन्ने छैन । महत्त्वपूर्ण कुरा त आफ्नो जीवनमा एउटा यस्तो रुचि वा लक्ष्य खोज्नु हो, जसले तपाईंलाई जीवनमा फर्काउन सकोस् र यसलाई फेरि सुन्दर बनाउन सकोस्,’ उनी भन्छन् ।
अपांगता भएका व्यक्तिहरूले संसारभरि (नेपाल र रुस दुवै देशमा) भोग्नुपर्ने सामाजिक चुनौतीबारे कुरा गर्दै रुस्तमले समाजको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने कुरामा जोड दिए । ‘सबैभन्दा पहिले त हामी पनि मानिस नै हौं । हाम्रो शरीरमा जस्तोसुकै चोट लागेको भए पनि हामी बाँच्न, आफ्नो पहिचान बनाउन र केही गर्न चाहन्छौं । समाजमा प्रायः यस्ता मानिसमाथि विश्वासको कमी देखिन्छ,’ रुस्तमले भने, ‘कहिलेकाहीँ अपांगता भएका व्यक्तिहरूले पूर्ण रूपमा स्वस्थ मानिसले भन्दा पनि बढी चकित पार्ने खालका सफलता हासिल गरेका छन् । हामी समाजमा समानता र सम्मान चाहन्छौं । हामी कुनै छुट्टै वर्ग वा भिन्न समूह होइनौं ।’
सगरमाथाको यो सफल यात्रा आफ्नो सहयोगी टोलीबिना कदापि सम्भव नहुने रुस्तम बताउँछन् । उनलाई सहयोग गर्न पाँचजना अनुभवी शेर्पाहरू खटिएका थिए । दुईजना सधैं उनको साथमै रहन्थे भने एकजनाले उनको अक्सिजनको मात्रा निरन्तर जाँच गरिरहन्थे ।
रुस्तम सेभेन समिट क्लबको व्यवस्थापनमा सगरमाथा आरोहणमा गएका थिए । ‘शेर्पाहरू साँच्चिकै अद्भुत र अविश्वसनीय रूपमा बलिया मानिस हुन् । उनीहरूको सहयोगबिना कुनै पनि आरोहण सम्भव छैन । चाहे आरोही स्वस्थ होस् या शारीरिक रूपमा अशक्त,’ उनले सुनाए, ‘मैले आफ्नो जीवन पूर्ण रूपमा ती शेर्पाहरूको अनुभव र सीपको हातमा सुम्पिएको थिएँ । म सकुशल फर्कन र आफ्नो लक्ष्य पूरा गर्न सफल भएकामा उनीहरूप्रति हृदयदेखि नै कृतज्ञ छु ।’
नेपालसँग रुस्तमको निकै मिठो र भावनात्मक सम्झना पनि जोडिएको छ । आरोहणका क्रममा लुक्लाको एउटा घटना सम्झँदै उनले भने, ‘म सडकमा हिँडिरहेको थिएँ । त्यहाँ एउटी सानी बालिका आइन् । उनले मलाई निकै उत्सुकताका साथ हेरिन् र नजिकै आएर गालामा म्वाइँ खाइन् । मेरा लागि त्यो चुम्बन भगवान्को आशीर्वाद जस्तै थियो ।’
कुराकानीको अन्त्यतिर उनले रसियामा पर्खेर बसेका छोरी र पत्नी सम्झिए । जतिसक्दो चाँडो परिवारको काखमा फर्कने इच्छा सुनाए । उनकी श्रीमती पनि पर्वतारोहणमा रुचि राख्ने रहिछन् । उनीहरूले पहिले सँगै रसियाका एल्ब्रस र काज्बेक हिमालको आरोहण गरिसकेका छन् । घरमा रुस्तमका दुई छोरी छन्, ८ वर्षकी र ११ महिनाकी ।
जेठी छोरी अहिले ‘बुबाको यो सगरमाथा यात्रा कति खतरनाक छ ?’ भन्ने राम्ररी बुझ्न सक्ने भइसकेकी छिन् । नेपाल आउनुअघि घरमा छोरीहरूसँग सगरमाथासम्बन्धी एउटा वृत्तचित्र हेरेको क्षण सम्झँदै रुस्तमले भने, ‘छोरीले भिडियोमा सगरमाथाको शिखर नजिकै एक मृत आरोहीको शव देखिन् र डराउँदै सोधिन, ‘बाबा, यो को हो?’
आफू यात्रामा निस्कनुअघि छोरी नडराओस् भन्नका लागि उनले ठट्टा गर्दै भनेछन्, ‘ओहो, यी अंकललाई त धेरै गर्मी भएछ, अनि आफ्नो कपडा खोलेर त्यहाँ आनन्दले सुत्नुभएको हो नि छोरी !’ तर उनी छोरी बुझ्ने भइसकेकी रहिछन् । उनीबारे निकै चिन्ता लिँदै कल गरिरहेकी थिइन् । उनी मोबाइलबाट छोरी र परिवारलाई आफ्नो अवस्था बताइरहेका देखिन्थे ।
हिमाल आरोहण गर्ने गियर तथा सामान प्याक गर्ने क्रममा उनकी जेठी छोरी सोफियाले दिएको एउटा चित्र र चिठ्ठी रुस्तमका लागि सगरमाथाको यात्राभरि सबैभन्दा ठूलो प्रेरणा र आशीर्वाद बन्यो । चिठ्ठीमा लेखिएको थियो, ‘मेरा बाबाले आफ्ना दुई हातको बलमा सगरमाथाको शिखर चुम्नुहुनेछ ।’
अन्तत: ती हातहरूले साँच्चै नै संसारमा एउटा जादु गरेर देखाइदिए । साँचो आत्मबल र दृढ इच्छाशक्ति भएका मानिसका लागि संसारमा कुनै पनि कुरा असम्भव छैन भन्ने कुरा रुस्तमले प्रमाणित गरिदिए ।
साभारः कान्तिपुर दैनिक ।


सैन्य ब्यारेक भत्किँदा आफ्ना दुवै खुट्टा गुमाएका रुसी पूर्वसैनिक रुस्तम नबिएभ । हालै उनले सगरमाथा आरोहण गरेका छन् । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर