अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्यका लागि सम्भावित सम्झौता हुन ‘केही दिन लाग्न सक्ने’ बताएका छन् । यसअघि कतारमा वार्ता चलिरहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र केन्द्र र पानीमुनी बम बिछ्याउँदै गरेका डुङ्गाहरूमाथि आक्रमण गरेको दाबी गरेको थियो ।
भारत भ्रमणका क्रममा मंगलबार जयपुरमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले भने, ‘आज कतारमा केही चरणमा वार्ताहरू भएका छन् । मलाई लाग्छ प्रारम्भिक मस्यौदाका केही बुँदाहरुबारे निकै विचार-विमर्श भइरहेको छ, त्यसैले सम्झौता टुंगोमा पुग्न केही दिन लाग्नेछ ।’
यसअघि अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले अमेरिकी सेनाले सोमबार दक्षिणी इरानमा क्षेप्यास्त्र केन्द्रहरू र पानीमुनी बम बिछ्याउन खोजिरहेका डुङ्गाहरूमाथि आक्रमण गरेको जनाएको थियो । यसले गत अप्रिलको सुरुदेखि कायम रहेको युद्धविरामलाई थप संकटमा पारेको छ ।
सेन्टकमका प्रवक्ता टिम हकिन्सले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिकी सेनाले आज दक्षिणी इरानमा आत्मरक्षाका लागि आक्रमण गरेको हो ।’ विज्ञप्तिमा आक्रमणको विस्तृत विवरण भने उल्लेख छैन ।
