दक्षिण कोरियाका कप्तान सोन ह्यु मिगंले फिफा विश्वकप २०२६ नै आफ्नो अन्तिम विश्वकप हुनसक्ने बताएका छन् ।फिफाले आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको अन्तर्वार्ता सोनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनलाई सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपमा प्राप्त नतिजाभन्दा माथिल्लो नतिजा ल्याउन टिममा कुन पक्षमा सुधार ल्याउनुपर्छ भनेर सोधिएको थियो ।
“हामीले सन् २०२२ मा प्राप्त गरेको नतिजा निश्चित खेलाडीले प्राप्त गरेको नतिजा होइन । यसमा धेरै जनाको हात छ । कोरियाली समर्थकको एक एक शब्दले टिममा ऊर्जा थपिदिएको छ । टिमले राम्रो नतिजा पाउन एकजुट भएर खेल्नुपर्छ । यो मेरो अन्तिम विश्वकप पनि हुनसक्छ । म सुखद नतिजाको अपेक्षामा छु,” सोनले भने ।
उक्त संस्करणमा टोली अन्तिम–१६ सम्म पुगेको थियो । टोली ब्राजिलसँग १–४ ले हारेपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।सोन अहिले ३३ वर्षका छन् । उनी यस वर्ष टिममा समेटिएका दुईमध्येका एक भेट्रान खेलाडी हुन् । यस वर्ष मुख्य प्रशिक्षक होंग म्युंग्बोले घोषणा गरेको २६ सदस्यीय टोलीमा सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप खेलेका उनी र गोलकिपर सकम सेउगंयु गरी दुई खेलाडी मात्रै छन् । सोनले सो वर्ष समूह चरणमा रुसविरुद्धको खेल खेल्दै विश्वकपमा डेब्यू गरेका थिए ।
फिफाले आउने विश्वकपको पुर्वसन्ध्यामा सोनसँग विश्वकपको बारेमा अन्तर्वार्ता गरेको छ । जसको भावानुवाद यस्तो छ :
चौथोपटक फिफा विश्वकप खेल्न पाउँदा कस्तो लागि रहेको छ ?
यो मेरो बाल्यकाल देखिको सपना हो । मैले सन् १९९८ को विश्वकप हेरेको थिए । तर स्पष्ट रूपमा याद छैन। मैले राम्ररी बुझेको विश्वकप भनेको सन् २००२ को हो । म फुटबल खेलाडी भएर विश्वकप जस्तो अन्तर्राष्ट्रिय मञ्चमा खेल्छु भन्ने चाहना पहिलेदेखि नै थियो । अब चौथो विश्वकप खेल्दै आफ्नो सपना पूरा गर्न पाउँदा खुसी लागेको छ ।
तपाईं गत वर्षदेखि एलए एफसीमा आबद्ध हुनुहुन्छ । आयोजक राष्ट्रको क्लबमा आबद्ध हुन पाउँदा कस्तो अनुभूति भइरहेको छ ?
विश्वकपलाई ध्यानमा राखेर मैले क्लबमा आबद्ध हुने निर्णय लिएको थिएँ । म निकै उत्साहित छु । यहाँ आबद्ध हुँदा म कोरियाली समर्थकहरूसँग पनि जोडिए । लस एन्जलसमा खेल्न पाए त मेरो लागि झन् राम्रो हुन्थ्यो । यसले मेरो करियरमा खास अर्थ राख्छ ।
यस संस्करणमा तपाईंले के लक्ष्य राख्नुभएको छ ?
टिमका मुख्य प्रशिक्षकले निकै उत्कृष्ट उपलब्धि हासिल गर्नुभएको छ । र, कप्तानको रूपमा उहाँले सन् २००२ मा टिमको कप्तानी पनि सम्हालिसक्नुभएको छ । यस संस्करणमा टिमले निकै रोमाञ्चक यात्रा तय गरेको थियो । मलाई पनि यस्तै अनुभव बटुल्न मन छ । मेरो मुख्य उद्देश्य भनेको उहाँले बनाएको समीकरणलाई पुनः दोहोर्याउने हो ।
कोरियालाई विश्वमा चिनाउन सफल हुँदा कतिको जिम्मेवारी बहन गर्नुहुन्छ ?
मैले यसलाई कहिले पनि चुनौतीको रूपमा लिइनँ । म सधैँ कोरियाली समर्थकहरूको मुहारमा खुसी ल्याउन सक्छु जस्तो लाग्छ । त्यसैले म धैर्यतापूर्वक खेलेर आफ्नो शतप्रतिशत दिन्छु । यो एक तरिकाले जिम्मेवारी पनि हो । तर, यो मलाई समस्या जस्तो लाग्दैन । यसको सट्टा म आफूलाई निकै भाग्यमानी ठान्दछु ।
विश्वकपले तपाईंको करियरमा कस्तो प्रभाव पारेको छ ?
सन् २०१४ को विश्वकपले मेरो करियरमा धेरै परिवर्तन ल्याएको छ जस्तो लाग्छ । किनभने म यस संस्करणमा टिमको सबैभन्दा कान्छो खेलाडी थिए । मलाई यो संस्करण निकै रोमाञ्चक र उत्साहजनक हुन्छ जस्तो लाग्छ । तर, वास्तविकता त्यस्तो भएन । मलाई त्यही संस्करणले फुटबलर बन्न सहयोग गरेको छ जस्तो लाग्छ ।
अल्जेरियासँगको खेलमा मैले पहिलो गोल गरे पनि हामीले पिडादायी हार व्यहोर्न पुग्यौँ । यति बेला मैले आफू थप सुधार ल्याउन आवश्यक छ जस्तो अनुभव गरेँ । मलाई म भन्दा पनि राम्रा खेलाडीहरू धेरै छन् जस्तो लागेको थियो ।
कोरिया सधैँ अन्तिम समयसम्म लड्न पछि नहट्ने मनसायका साथ मैदानमा उत्रन्छ । यसलाई तपाईंले एक शब्दमा कसरी बयान गर्नुहुन्छ ?
म युवावस्थामा हुँदा यो भनाई सधैँ सुन्थे । र, यो कुराले नै मलाई टिममा जोड्न प्रेरित गर्यो । मलाई अहिले पनि यही भावना टिमको लागि सबैभन्दा महत्त्वपूर्ण छ जस्तो लाग्छ । टेक्निकल स्किल र शारीरिक शक्ति अवश्य चाहिन्छ । तर, हामी उच्च लयमा हुँदा अन्तिम समयसम्म पनि संघर्ष गर्नसक्ने क्षमता अति आवश्यक जस्तो लाग्छ ।
