देशको निर्वाचन आयोगका कारण दसौँ लाख नागरिकको मताधिकार अनुचित ढंगले खोसिएको चिन्ताबिच भारतमा शुक्रबारदेखि पुनः सडक आन्दोलन सुरु भएको छ । युवा नेतृत्वको अभियान ‘कक्रोच मुभमेन्ट’को आह्वानमा शुक्रबार मुम्बईमा हजारौँ मानिस भेला भएर प्रदर्शनको उद्घोष गरेका थिए । ‘कक्रोच जनता पार्टी (सिजेपी)’ भनेर चिनिने र देशका ‘जेन–जी’ पुस्तामाझ व्यापक समर्थन पाएको यस समूहले यसपटक आफ्नो मुख्य मागमा भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा राखेको छ ।
‘इन्डियन एक्सप्रेस’ नामक पत्रिकामा प्रकाशित एक अनुसन्धनात्मक समाचारले भारतको मतदाता नामावली परिमार्जन तथा ‘शुद्धीकरण’ प्रक्रिया (जसलाई विशेष सघन परिमार्जन अर्थात् ‘स्पेसल इन्टेन्सिभ रिभिजन (एसआइआर)’ भनिन्छ) मा अनियमितता भएको आरोप लगाएपछि ज्ञानेश कुमार अहिले निकै विवादित बनेका छन् । ज्ञानेश कुमारकै नेतृत्वमा सञ्चालन भइरहेको एसआइआर प्रक्रियाका कारण करोडौँ भारतीयको नाम मतदाता नामावलीबाट हटिसकेको छ । अझै केही राज्यमा यो प्रक्रिया सञ्चालन हुनै बाँकी नै छ ।
नाम हटाइएकामध्ये धेरैले आफूहरूको नाम अनुचित रूपले मतदाता सूचीबाट हटाइएको भनेर मुद्दा दायर गरेका छन् । विपक्षी राजनीतिज्ञ र नागरिक समाजका समूहले ‘एसआइआर’ प्रक्रिया केन्द्रको सत्तारुढ ‘भारतीय जनता पार्टी (भाजपा)’लाई फाइदा पुर्याउने उद्देश्यले भारतको निर्वाचन प्रणालीमा गरिएको व्यापक फेरबदलको एक हिस्सा भएको आरोप लगाउने गरेका छन् ।
सुरुमा अनलाइन ‘प्लाटफर्म’मा व्यंग्यात्मक अभियानका रूपमा सुरु भएको सिजेपी पछि नयाँदिल्ली र देशका विभिन्न भागमा नरेन्द्र मोदी सरकारविरुद्ध युवालाई उतार्न सफल भयो । आन्दोलनका कारण केन्द्र सरकारका शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने अवस्था मात्र आएन, मोदी सरकार नै युवामाझ निकै अलोकप्रिय बन्न पुग्यो ।
दिल्लीको मुटुमा हप्तौँसम्म विरोध प्रदर्शनका कारण अन्ततः गत जुलाईमा शिक्षामन्त्री राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि, उक्त समूहले शिक्षा र लोकतन्त्रका मुद्दामा सरकारलाई जवाफदेही बनाउन ‘दबाब समूह’का रूपमा सक्रिय रहने घोषणा गर्यो ।
निर्वाचन आयोगका बाँकी दुई आयुक्तले ज्ञानेशसँग कैयौँ विषयमा फरक मत राखेको समाचार ‘इन्डियन एक्सप्रेस’ले खुलासा गरेपछि, गत साता नै सिजेपीका संस्थापक अभिजित दिपकेले ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने र नदिए ‘कक्रोचहरू’ले उनी पदबाट नहटुन्जेलसम्म आफ्नो आन्दोलन जारी राख्ने बताएका थिए । दिपकेले मुम्बईको विरोध प्रदर्शनले देशभरि आन्दोलनको सुरुवात गर्ने र दिल्ली, गोवा, कोलकाता तथा बेंगलुरुमा पनि थप प्रदर्शनको योजना रहेको बताए ।
सिजेपीले शुक्रबार मुम्बईको शिवाजी पार्कमा विरोध प्रदर्शनका लागि प्रशासनसँग अनुमति मागेको थियो । प्रशासनले त्यस्तो अनुमति दिएन । तर, यसले पनि दिपकेको समूहलाई प्रदर्शन गर्न रोक्न सकेन । ‘हामी सत्तासीनहरूसँग लडिरहेका छौँ,’ प्रदर्शनअघि आयोजित पत्रकार सम्मेलनमा दिपकेले भनेका थिए, ‘हामी सबैलाई महात्मा गान्धीको सम्झना छ, जसले अंग्रेजविरुद्ध संघर्ष गरेका थिए ।
के अंग्रेजले उनलाई कहिल्यै आन्दोलन गर्ने अनुमति दिएका थिए ?’ दिपकेको वाचाअनुरूप नै शुक्रबार दिउँसो मुम्बईमा भारी प्रहरी तैनाथीबिच हजारौँ नागरिक सडकमा उत्रिए, जसमध्ये धेरैजसो युवा थिए, जसले आफूहरू भारतको लोकतन्त्रका लागि लड्न त्यहाँ आएको बताए ।
‘मतदान कुनै पनि नागरिकको सबैभन्दा आधारभूत अधिकार हो, तर ज्ञानेश कुमार र निर्वाचन आयोगको कामले त्यो अधिकारमाथि प्रहार भइरहेको छ,’ २२ वर्षीया विद्यार्थी तथा अभियन्ता दिशाले भनिन्, ‘लाखौँ मानिसले अहिले आफ्नो मताधिकार गुमाएका छन् र उनीहरूलाई अब भारतको नागरिकका रूपमा समेत मान्यता दिइएको छैन । लोकतन्त्रमाथिको यो प्रहार रोकिनुपर्छ । यसको पहिलो महत्वपूर्ण कदम भनेको ज्ञानेश कुमारलाई राजीनामा गराउनु हो र त्यसपछि एसआइआरलाई खारेज गरिनुपर्छ ।’
‘उनीहरूले आएर सजिलै मत खोस्न र निर्वाचनमा धाँधली गर्न सकिन्छ भन्ने सोचेका होलान्, तर हामी उनीहरू कति गलत छन् भनेर देखाउँनेछौँ । हामीले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारिसकेका छौँ । अब चिन्ता लिनुपर्ने ज्ञानेश कुमारले हो, किनकि पालो पक्कै पनि उनकै हो,’ मुम्बईको प्रदर्शनमा सहभागी १८ वर्षीया जान्वी उपाध्यायले भनिन् ।
उता निर्वाचन आयोगले ‘एसआइआर’को विषयमा कुनै गल्ती नभएको दाबी गरेको छ । तथापि, तनाव कम गर्ने उद्देश्यले पछिल्लो समय आयोगले अधिकारीलाई मतदाता सूचीबाट गलत तरिकाले हटाइएका भनी दाबी गर्नेहरूको नाम दर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन निर्देशन दिएको छ । शुक्रबार भारतको आर्थिक केन्द्र मुम्बईसँगै देशको राजधानी दिल्लीमा पनि ज्ञानेश कुमार र निर्वाचन आयोगविरुद्ध प्रदर्शन भयो ।
यद्यपि, दिल्लीमा भने विरोध प्रदर्शनमा उत्रिएकाविरुद्ध प्रहरी बढी कठोर देखियो । यसअघि जुलाईमा भएको कक्रोच आन्दोलनमा मुख्य विरोधस्थल बनेको दिल्लीको जन्तरमन्तरमा पहिले नै हजारौँ प्रहरी तैनाथ गरिएका थिए । प्रदर्शनकारीको आवतजावत कम गर्न वरपरका दर्जनौँ मेट्रो स्टेसन बन्द गरिएका थिए । यहाँसम्म कि इन्टरनेट सेवासमेत बन्द गरिएको थियो ।
जन्तरमन्तरमा भेला हुन सुरु भएलगत्तै सयौँ मानिसलाई तत्कालै प्रहरीका गाडीमा हालेर लगिएको थियो । त्यहाँबाट नागरिक समाजका अगुवा र विपक्षी राजनीतिज्ञलगायत कम्तीमा सात सय मानिसलाई नियन्त्रणमा लिइएको प्रहरीले बतायो ।
