कांग्रेसको नयाँ विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ। संशोधित विधानले कांग्रेसको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै सांगठनिक संरचना विस्तार गरेको छ। समावेशी प्रतिनिधित्व, युवाको सहभागिता तथा पेसागत क्षेत्रका विज्ञलाई नीति निर्माण तहमा समेट्ने गरी विधान संशोधन गरिएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

नयाँ विधानअनुसार केन्द्रीय कार्यसमितिमा सभापतिबाहेक वरिष्ठ उपसभापतिसहित विभिन्न पदाधिकारीको व्यवस्था गरिएको छ। महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम तथा पिछडिएको क्षेत्रका समुदायको नेतृत्वमा प्रतिनिधित्व सुनिश्चित गर्न क्लस्टरगत आरक्षणको व्यवस्था गरिएको छ।

विधानको अर्को महत्वपूर्ण व्यवस्था ३५ वर्षमुनिका २१ जना युवालाई अनिवार्य रूपमा केन्द्रीय कार्यसमितिमा समेट्नु हो। त्यस्तै, इन्जिनियर, चिकित्सक, पत्रकार, प्राध्यापकलगायत पेसागत क्षेत्रका विज्ञका लागि कोटा निर्धारण गरी सात जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ।

प्रवासमा रहेका नेपालीको भूमिकालाई समेत समेट्दै जनसम्पर्क समितिबाट सात जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। प्रवक्ता चालिसेका अनुसार सभापतिबाट केन्द्रीय कार्यसमितिमा ६६ जना मनोनित हुनेछन्। ठूलो आकारको केन्द्रीय समिति बनाउनुको उद्देश्य पार्टीको कार्यक्षेत्र विस्तार गर्नु रहेको उनले स्पष्ट पारे ।

यसैबीच, महाधिवेशनको बन्द सत्रले कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ। महाधिवेशन मितव्ययी ढंगले सम्पन्न भइरहेको दाबी गर्दै प्रवक्ता चालिसेले पार्टी सदस्यको सहयोग र सक्रियताका कारण ठूलो कार्यक्रम तुलनात्मक रूपमा कम खर्चमा सम्पन्न गर्न सकिएको बताए ।

नयाँ विधान पारित भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *