पाकिस्तानको जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले सरकारसँगको वार्ता असफल भएपछि देशको उत्तरपश्चिम क्षेत्रबाट एक ठूलो विरोध र्याली शुरू गरेका छन्। सरकारसँगको प्रदर्शन स्थगित गर्ने विषयमा भएको वार्ता सहमतिमा नपुगेपछि पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका ५,००० भन्दा बढी समर्थकहरू आइतबार र्यालीमा निस्किएका हुन्।
यो मार्च गत सेप्टेम्बर २७ कै लागि तय गरिएको थियो, तर सरकार र पीटीआई नेतृत्वबीच वार्ताको समय मिलाउन यसलाई अक्टोबर ४ सम्मका लागि सारिएको थियो। तर, सप्ताहन्तमा भएका दुई चरणका वार्ताहरू पनि कुनै निष्कर्षमा नपुगेपछि पार्टीले पूर्व निर्धारित योजना अनुसार नै अगाडि बढ्ने निर्णय गरेको अलजजीराले जनाएको छ ।
जनमत सर्वेक्षणहरू अनुसार देशका सर्वाधिक लोकप्रिय राजनीतिक व्यक्तित्व मानिने इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा रहेका छन्। उनको पार्टीले उनलाई लगाइएका मुद्दाहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आएको छ, यद्यपि अधिकांश सजाहरू कि त निलम्बन भइसकेका छन् वा पुनरावेदनमार्फत उल्टाइएका छन्।
पीटीआईको आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरू अनुसार पार्टीको पकड रहेको खैबर पख्तुनख्वा प्रान्तका विभिन्न क्षेत्रबाट समर्थकहरू ठूलो संख्यामा र्यालीमा सहभागी भएर लस्करै अगाडि बढेका छन्।
सो क्षेत्रका मुख्यमन्त्री सोहेल अफ्रिदीले इमरान खानको समर्थनमा प्रदर्शन जारी रहने कुरा पहिले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनका अनुसार यो प्रदर्शन आगामी बिहीबारसम्म इस्लामाबादबाट ८० किलोमिटर पश्चिममा पर्ने खैरबाद पुग्नेछ र त्यसपछि मात्रै आन्दोलनको अर्को चरणको योजना घोषणा गरिनेछ।
यता, पीटीआईका प्रदर्शनकारीहरू इस्लामाबाद आइपुग्ने खबरले हप्तौँअघिदेखि नै सरकारले राजधानी प्रवेश गर्ने मुख्य मार्गहरूमा कन्टेनर राखेर अवरोध खडा गरेको छ। गृहमन्त्री मोहसिन नक्वीले आइतबार अघिल्लो चरणको वार्ता असफल भएको पुष्टि गर्दै मुख्यमन्त्री अफ्रिदीले नै वार्ता बिथोलेको आरोप लगाएका छन्। साथै, सरकारले पीटीआईलाई कुनै पनि किसिमको उपद्रव मच्चाउन नदिने उनले चेतावनी दिएका छन्।
गृहमन्त्री नक्वीले गत सेप्टेम्बर १४ को इस्लामाबाद उच्च अदालतको आदेशलाई स्मरण गराउँदै कुनै पनि राजनीतिक दल वा तिनका नेतृत्वलाई राजधानीका सार्वजनिक सडक, राजमार्ग, अन्तरसञ्चार मार्ग, टोल प्लाजा र भवनहरू कब्जा गर्ने कानुनी अधिकार नभएको बताए। ७३ वर्षीय इमरान खानको स्वास्थ्य अवस्था, विशेष गरी महिना दिनदेखि विशेष उपचारको आवश्यकता परेको उनको दायाँ आँखाको अवस्थालाई लिएर पार्टीले चिन्ता व्यक्त गर्दै आएको छ। यसैबीच, गत महिना खानका तीन दिदीबहिनीहरूको गिरफ्तारीले तनाव थप बढाएको भन्दै पार्टीले उनीहरूको समेत रिहाइको माग गरेको छ।
