फ्रान्समा चर्कियो विद्यार्थी आन्दोलन, सोमबार ५०० सम्म विद्यालय बन्द हुने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विद्यार्थी आन्दोलनका क्रममा झडप र हिंसात्मक घटना बढेपछि फ्रान्समा सोमबार ४०० देखि ५०० सम्म विद्यालय आंशिक वा पूर्ण रूपमा बन्द हुने भएका छन् । फ्रान्सका शिक्षामन्त्री एडुआर्ड गेफ्रेले आइतबार सुरक्षा अवस्था सामान्य नरहेकाले ती विद्यालयमा पठनपाठन पूर्ण वा आंशिक रूपमा स्थगित गरिने बताएका हुन् । उनका अनुसार आन्दोलन शुरू भएयता २४ वटा विद्यालयमा आगजनी वा तोडफोड भएको छ । जीर्ण विद्यालय भवनको विरोधमा गत सातादेखि हजारौं विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । पेरिसबाट शुरू भएको प्रदर्शन मोन्टपेलिए, नान्टेस र मार्सेइललगायत अन्य शहरमा समेत फैलिएको छ ।

फ्रान्सका न्यायमन्त्री जेराल्ड दार्मानिनका अनुसार शुक्रबारसम्म देशका ३ हजार ७ सयमध्ये ७३५ विद्यालय कुनै न कुनै रूपमा हिंसात्मक प्रदर्शनबाट प्रभावित भएका थिए । शिक्षामन्त्री गेफ्रेले सोमबार प्रभावित विद्यालयको संख्या शुक्रबारकै हाराहारीमा पुग्न सक्ने बताए पनि क्रमशः पठनपाठन पुनः सञ्चालन गर्ने बताएका छन् ।

गेफ्रेले विद्यार्थी आन्दोलनमा विशेषगरी अतिवादी वामपन्थी समूहका कार्यकर्ता घुसेर आन्दोलनलाई विद्यार्थीबाट अलग दिशामा लैजाँदै चरम हिंसा गराएको आरोप लगाएका छन् । उनले आन्दोलनका क्रममा शिक्षा क्षेत्रका ७८ कर्मचारी घाइते भएको जानकारी दिँदै यस्तो अवस्था यसअघि कहिल्यै नदेखिएको बताएका छन् ।

फ्रान्सका गृहमन्त्री लरेन्ट न्युनेजका अनुसार शुक्रबार मात्रै १ हजार ७४७ जना पक्राउ परेका थिए । एएफपीका अनुसार आन्दोलन शुरू भएयता ५ हजारभन्दा बढी पक्राउ परिसकेका छन्, जसमध्ये करिब ८५ प्रतिशत नाबालिग छन् ।

सरकारले ठोस कदम नचालेको आरोप लगाउँदै आन्दोलन आयोजकहरूले मंगलबार पनि प्रदर्शन जारी राख्ने बताएका छन् । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले भने उच्च माध्यमिक तहका विद्यार्थी र शैक्षिक कर्मचारीले भोगिरहेका समस्या समाधान गर्न सरकारले थप कदम चालिरहेको बताएका छन् ।

उनका अनुसार कक्षा सञ्चालनलाई निरन्तरता दिने, विद्यालयका भौतिक संरचना सुधार गर्ने, विद्यालय समयतालिका व्यवस्थित बनाउने तथा विश्वविद्यालय भर्ना प्रक्रियासम्बन्धी प्लेटफर्मलाई थप पारदर्शी बनाउने काम अघि बढाइएको छ ।

तोडफोडबाट भएको क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्ने व्यवस्था गर्ने विधेयकको समीक्षा पनि सरकारले तीव्र बनाएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *