काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’मा रहेका इनम सापकोटासँग सम्पर्क देखिएपछि दिपक भट्टलाई जेल सरुवा गरिएको छ ।
शनिबार साँझ भट्टलाई नक्खु कारागारबाट कारागार कार्यालय सिन्धुपाल्चोकमा पठाइएको हो । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । भट्टलाई सिन्धुपाल्चोक पठाइएको कारागार व्यवस्थापन विभागले बताएको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग इनम सापकोटामार्फत चोलेन्द्र शमशेर जबराले कुराकानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
प्रहरीले जबरालाई असोज ११ मा नियन्त्रणमा लिएर छाडेको थियो । प्रहरीले उनलाई सुरक्षा चुनौती देखिएपछि नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ । तर, घटनाक्रमले चोलेन्द्रमाथि थप अनुसन्धान भइरहेको देखाएको छ ।प्रहरीको विशेष ब्युरोले इनम सापकोटालाई नियन्त्रणमा लिएर त्यसबारे सोधपुछ गरेको छ ।
