हिमलुङ हिमपहिरो : थप आठ शव फेला, एक जनाको खोजी जारी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा पुरिएर सम्पर्कविहीन भएका १६ जनामध्ये १५ जनाको शव फेला परेको छ ।उद्धार टोलीले बिहीबार थप आठ जनाको शव निकालेसँगै अब एक जनाको मात्रै शव भेटिन बाँकी रहेको हो ।

नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को विशेषज्ञ खोज तथा उद्धार टोलीले कठिन परिस्थितिका बिच बिहीबार आधार शिविर क्षेत्रबाट आठ वटा शव फेला पारेको हो । भेटिएका शवमध्ये छ वटा फु गाउँमा र दुई वटा सदरमुकाम चामेमा हेलिकोप्टरमार्फत ल्याइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए  उनका अनुसार ल्याइएका शवहरूको आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ ।

अझै पनि सम्पर्कविहीन रहेका अन्तिम एक जना हिमालयन होलिडेजका सदस्य हुन् । प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका बिच अन्तर्राष्ट्रिय पर्वतीय महासंघ (आईएफएमजीए)का माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा खटिएको टोलीले बाँकी एक जनाको खोजी कार्यलाई तीव्र बनाएको छ ।

यसअघि उद्धार टोलीले आइतबार संखुवासभाका छेवी भोटे र पासाङ भोटे, सोमबार गोरखाका वीरेन्द्र गुरुङ र खोटाङका घनश्याम राई तथा बुधबार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला पारेको थियो ।

गत असोज १० गते शनिबार राति हिमलुङ आधार शिविरमा अचानक गएको हिमपहिरोमा परी आरोहण टोलीका सदस्य तथा स्थानीय सहयोगी गरी १६ जना पुरिएर बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *