दाउन्ने सडकको हिलो सुकेका कारण ११ दिनदेखि पूर्वी र पश्चिम नवलपरासीमा रोकिएका सबै गाडी वारपार भएका छन् । यहाँ मंगलबार साँझदेखि ठूलो पानी परेको छैन । पानी नपरेर राजमार्ग सुक्खा भएपछि दुई जिल्लाका विभिन्न स्थानमा रोकिएका सबै गाडी दाउन्ने वारपार भएका छन् ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्सपेक्टर राजन तिमिल्सिनाले दाउन्नेमा हिलोका कारण अवरुद्ध सडक दुईतर्फी नै सञ्चालनमा आएको जानकारी दिए । विनयी खोलाको डाइभर्सन सडकबाट मालवाहक गाडी आउजाउ गराइएको छ । साना सबैजसो गाडी दुम्कीबास पूर्वतर्फको होङ्सी गेट हुँदै सर्दी र पुनः दुम्कीबास निस्कने भित्री सडकबाट आउजाउ गराइएको छ ।
बुधबार साँझदेखि बिहीबार दिउँसो ३ बजेसम्म हजारौं गाडी दाउन्ने सडक हुँदै वारपार भएका छन् । बिहीबार बिहानबाट पूर्वी र पश्चिम नवलपरासीका कुनै पनि स्थानमा प्रहरीले मालवाहक र लामा गाडी रोकेको छैन । ११ दिनसम्म मालवाहक र लामा गाडी दाउन्नेको विश्वकर्मा मन्दिरको दलदलमा फस्ने डरले ठाउँठाउँमा रोक्ने गरिएको थियो । गएको ११ घण्टाभित्र सबै मालवाहक गाडीसमेत दाउन्ने कटेका छन् ।
महेन्द्र राजमार्ग स्तरोन्नतिको काम गरिरहेको चिनियाँ ठेकदार कम्पनीले दाउन्नेमा ११ दिनदेखि जाम हुँदासमेत त्यहाँ ग्राभेल हाल्ने र सम्याउने काम द्रुत गतिमा गरेको छैन ।दुम्कीबासदेखि ४ किलोमिटरसम्मको राजमार्गमा ५ सय टिपर ग्राभेल हाल्ने र ग्रेडरले सम्याउने भनेर लामा गाडी प्रवेशमा रोक लगाइँदै आएको थियो ।दाउन्नेमा यत्रा दिन जुन गतिमा काम गर्नुपर्थ्यो त्यसो नदेखिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।
