पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल नासरसँग आफ्नो सम्झौता थप दुई वर्षका लागि नवीकरण गरेका छन्। बिहीबार क्लबले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् सम्झौताबारे जानकारी दिएको हो। आधिकारिक घोषणाभन्दा केही मिनेटअघि, क्लबले एउटा टिजर भिडियो सार्वजनिक गरेको थियो, जसमा ४० वर्षीय रोनाल्डो समुद्री किनारमा हिँड्दै ‘अल नासर सधैँभरि’ भनिरहेका देखिन्छन्।
रोनाल्डो सन् २०२३ मा साउदी अरेबिया आएका थिए। उनको आगमनले विश्व फुटबलका अन्य ठूला खेलाडीहरूलाई पनि तेल-धनी राष्ट्रतर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। यद्यपि, गत महिना साउदी प्रो लिग समाप्त भएपछि अल नासर तेस्रो स्थानमा रहँदै उपाधिविहीन बनेपछि रोनाल्डोले ‘यो अध्याय समाप्त भयो’ भन्दै पोस्ट गरेका थिए। सो पछि उनले क्लब छाड्न सक्ने अनुमान बढेको थियो।
साउदी फुटबलमा ठूलो लगानी गरिरहेको पब्लिक इन्भेस्टमेन्ट फन्डका एक स्रोतले एएफपीलाई भने, ‘साउदी लिगको विकासमा रोनाल्डोको उपस्थिति एक प्रमुख कारक हो। उनले विश्वका उत्कृष्ट र युवा खेलाडीहरूका लागि साउदी अरेबिया आउने ढोका खोलेका छन्।’ अल नासर गत सिजन उपाधिविहीन रहे पनि रोनाल्डो २५ गोलसहित प्रो लिगका सर्वाधिक गोलकर्ता बनेका थिए। तर, उनले अल नासरलाई कुनै पनि घरेलु वा महादेशीय उपाधि जिताउन सकेका छैनन्।
क्लब गत महिना एसियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो। साउदी अरबले रोनाल्डो, नेयमार र करिम बेन्जेमा जस्ता खेलाडीहरूमाथि अर्बौं डलर लगानी गरेर फुटबल जगतमा हलचल मच्चाएको छ। सन् २०३४ मा विश्वकप आयोजना गर्न लागेको साउदीले आफूलाई पर्यटन र व्यापारको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। फुटबलमाथिको यो लगानीलाई दीर्घकालीन रणनीतिको हिस्सा मानिएको छ।
