विशेष अदालतले दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बालाई २५/२५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले बिहीबार (आज) श्रेष्ठ र सुब्बालाई धरौटीमा छाड्न आदेश गरेको हो।
दृष्टि न्यूजमा गत असार ८ गते ’विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। उक्त समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटासहित ५ जनाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।
असार ९ गते विशेषको बृहत् इजलासले सम्पादकसहित ३ जनालाई समाचार नहटाइ ३ दिनभित्र बयानमा आउन आदेश दिएको थियो। उनीहरू उपस्थित भएपछि अदालतले २५/२५ हजार धरौटीमा रिहा हुन भनेको हो।
