एसबीआई बैंकमा चरम शोषण, व्यवस्थापन पक्षधर गभर्नरसमक्ष निवेदन

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

नेपाल एसबीआई बैंकका कर्मचारीहरूले आफूमाथि मानसिक उत्पीडन, चरम श्रम शोषण, मानमर्दन तथा प्रतिशोधपूर्ण सरुवा गरिएको आरोप लगाउँदै नेपाल राष्ट्र बैंकमा उजुरी हालेका छन्।

बैंकको कर्मचारी संघले केन्द्रीय बैंकमा दर्ता गरेको उजुरीमा कमर्सियल शाखामा कार्यरत कर्मचारीलाई शाखा प्रबन्धकले जबर्जस्ती राति ११ बजेसम्म ओभरटाइम काममा खटाउने, मानसिक उत्पीडन गर्ने तथा व्यक्तिगत अपमान गरेको उल्लेख छ।

संघका अनुसार यस विषयमा केही महिनाअघि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समक्ष निवेदन दर्ता गरिए पनि कुनै प्रभावकारी कारबाही नभएपछि नियमनकारी निकाय गुहारिएको हो । यसअघि बैंकले छानबिन समिति गठन गरेर ३० दिनभित्र प्रतिवेदन सार्वजनिक र कारबाहीको आश्वासन दिएको बताइन्छ ।

उजुरीमा समितिले प्रतिवेदन बुझाएपछि त्यसलाई कार्यान्वयन गर्नुको सट्टा कर्मचारी सेवा उपनियमको गलत व्याख्या गर्दै सहायक महाप्रबन्धक तहका कर्मचारीलाई पुनः छानबिनको जिम्मेवारी दिइएको आरोप लगाइएको छ। मानसिक उत्पीडनजस्तो गम्भीर विषयमा छानबिन गर्दा पिडित र पीडकलाई अलग राख्नुपर्ने न्यूनतम प्रक्रियागत मापदण्डसमेत पालना नगरिएको दाबीे छ।

संघका अनुसार साउन २ गते साँझ इमेलमार्फत छानबिन सम्पन्न भएको र अनुशासन अधिकारीले आवश्यक कारबाही गरेको र तीन दिनपछि बैंक व्यवस्थापनले पीडित तीनजना कर्मचारीलाई उपत्यकाबाहिर सरुवा गरेको छ। संघले यसलाई प्रतिशोधपूर्ण कदम भनेको छ।

उजुरीमा लेखिएको छ, ‘उजुरीकर्ता तथा ट्रेड युनियनका पदाधिकारीलाई उजुरी गरेकै आधारमा सरुवा वा कारबाही गर्नु प्रत्यक्ष रूपमा अनुचित श्रम अभ्यास हो। यसले उजुरीकर्ता वा साक्षीमाथि प्रतिशोध लिन नपाइने श्रम सम्बन्धी आधारभूत मान्यताको उल्लंघन गरेको छ।’

यसअघि पनि उक्त बैंक विभिन्न विवादमा तानिँदै आएको थियो। भारतीय बैंकबाट भएको एउटा शंकास्पद कारोबारमा नेपाल राष्ट्र बैंकले कारबाहीको सट्टा उन्मुक्ति दिएको छ । गत वर्षको उक्त कैफियतलाई गभर्नर विश्वनाथ पौडेलले सञ्चालक समितिबाट निर्णय गरेर कारबाहीको सट्टा उन्मुक्ति दिएका थिए ।

जबकी बैंक सुपरीवेक्षण विभाग अन्तर्गतको मनि लण्डरिङ प्रिभेन्सन सुपरभिजन डिभिजनले स्पष्ट रुपमा कारबाहीको सिफारिस गरेको विषयमा गभर्नरले आफ्नो पदीय अधिकार दुरुपयोग गरेको चर्चा बैंकभित्रै हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *