दक्षिण-पश्चिम मनसुन प्रवेशमा ढिलाइ हुने संकेत बलियो बन्दै गएको छ । यस वर्ष दक्षिण भारतीय राज्य केरलमै तत्काल मनसुन भित्रने संकेत नदेखिएकाले त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने मौसमविद्हरूले बताएका छन् । गत वर्ष नेपालमा सरदरभन्दा १५ दिन अगावै मे २९ मा मनसुन भित्रिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्याल भारतमै मनसुन प्रणाली विकसित भइनसकेकाले यहाँ पनि त्यसको प्रभाव पर्ने बताउँछन् । ‘केरलमा भित्रिने मनसुनी प्रणाली विस्तार भएर नै नेपाल प्रवेश गर्ने हो,’ उनले भने, ‘त्यहाँ नै तत्काल मनसुनी मौसमी प्रणाली बनिसकेको देखिँदैन ।’
नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ हो । सामान्यतया केरलमा मनसुन प्रवेश गरेको १२ देखि १४ दिनभित्र नेपाल आइपुग्छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मे २६ मा केरलबाट मनसुन भित्रने अनुमान गरेको थियो । त्यहाँ सामान्यत: जुन १ मा मनसुन भित्रन्छ । उक्त दिन पनि मनसुनी प्रणाली विकसित नभएपछि विभागले जुन ३ सम्ममा भित्रन सक्ने भन्दै अपडेट जारी गरेको छ । सोमबार सार्वजनिक मनसुनी अपडेटमा आगामी २-३ दिनभित्र अरब सागरका थप क्षेत्र, केरल र तमिलनाडुका केही भागमा विस्तार हुने अनुकूल अवस्था रहेको उल्लेख छ । गत वर्ष भारतमा मे २४ मा मनसुन भित्रिएको थियो ।
‘केरलमा मनसुन प्रवेश गरेको १२ देखि १४ दिनभित्र नेपाल आइपुग्छ । तर, त्यहीँ सुरु भएको छैन,’ मौसमविद् सरोज पुडासैनीले भने । यस वर्ष मनसुनी प्रक्रियामा ‘केही स्लो मुभमेन्ट’ देखिएको उनी बताउँछन् । ‘विभिन्न वेदर प्यारामिटर, हावाको गति र वर्षा ढाँचा विश्लेषण गरेर मात्रै मनसुन प्रवेशबारे निष्कर्ष निकाल्न सकिन्छ,’ उनले भने, ‘हामीले पनि मनसुनी प्रणालीको निगरानी निरन्तर गरिरहेका छौं ।’
मनसुन ढिलाइसँगै यो कमजोर बन्न सक्ने पनि पनि मौसमविद्हरूको आकलन छ । भारतीय मौसम विभागले यसअघि जुनदेखि सेप्टेम्बरसम्म ९२ प्रतिशत वर्षा हुने प्रारम्भिक अनुमान गरे पनि पछिल्लो संशोधनपछि त्यसलाई ९० प्रतिशतमा झारेको छ । गत शुक्रबारको प्रेस ब्रिफिङमा पृथ्वी विज्ञान मन्त्रालयका सचिव एम रविचन्द्रनले एल निनो विकसित हुने संकेतले मनसुन कमजोर पार्न सक्ने बताएका थिए । तापक्रम पनि सामान्यभन्दा माथि रहने र २०१५ पछिकै मनसुन कमजोर हुने संकेत उनले गरेका छन् ।
दक्षिण एसियामा जुनदेखि सेप्टेम्बरसम्म सक्रिय रहने दक्षिण–पश्चिम मनसुनले वार्षिक वर्षाको करिब ७५ देखि ९० प्रतिशत हिस्सा ओगट्छ । कृषि, जलस्रोत र ऊर्जा उत्पादनमा अत्यधिक निर्भर यस क्षेत्रमा मनसुन कमजोर बने समग्र अर्थतन्त्रमै असर पर्छ ।
विभागका महानिर्देशक मृत्युन्जय महापात्रले दक्षिण-पश्चिम मनसुन अरब सागर र बंगालको खाडीका केही भागमा थप फैलिने अपेक्षा गरिएकाले सात दिनभित्र भारतमा मनसुन प्रवेश गर्ने प्रेस ब्रिफिङका क्रममा बताएका थिए ।
अन्डमान र निकोबार द्वीपबाट केरलसम्म मनसुन आइपुग्न सामान्यतया १० देखि १५ दिन लाग्छ। यस पटक मे १६ मै अन्डमान क्षेत्रसहित दक्षिण-पूर्वी अरब सागर, दक्षिण-पश्चिम र दक्षिण-पूर्वी बंगालको खाडीमा मनसुन सक्रिय भइसकेको थियो । केरलतर्फ मनसुन अघि बढ्न अरब सागर र बंगालको खाडीमा बन्ने वायुमण्डलीय दबाब, हावाको चाप र चक्रवातजस्ता मौसमी प्रणाली महत्वपूर्ण छन् ।
मनसुन भित्रिएको औपचारिक घोषणाका लागि केरलसहित १४ वटा मौसम केन्द्रमध्ये कम्तीमा ६० प्रतिशत केन्द्रमा लगातार दुई दिनसम्म २.५ मिलिमिटर वा सोभन्दा बढी वर्षा हुनुपर्ने विभागले जनाएको छ । पश्चिमी वायुको गति बलियो भए मात्रै त्यसले मनसुन प्रवेशमा सघाउँछ ।
नेपालमा भने मनसुन सरदर जुन १३ (जेठ चौथो साता) भित्रिएर अक्टोबर २ (असोज तेस्रो साता) बाहिरिने गर्छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरिसकेको छ । ‘एल निनो’ प्रभाव : खडेरीदेखि बाढीको त्रास
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत यस वर्षको मनसुनमा जोखिम उच्च रहने प्रक्षेपण गरेको छ । सरदरभन्दा कम वर्षा र सरदर तापक्रम वृद्धि हुने आकलनले केही उच्च हिमाली स्थानमा हिमताल विस्फोट हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ । जसका कारण तल्लो तटीय क्षेत्रमा बाढी पहिरो डुबान जमिन कटान र आकस्मिक बाढीजस्ता मनसुनजन्य विपद्को जोखिम अधिक रहने सम्भावना छ ।
दैनिक तापक्रममा वृद्धि हुने सम्भावना अधिक रहने आकलनले देशको दक्षिणी तराई भू-भागमा सर्वसाधारण अत्यधिक गर्मी वा तातो हावाको लहर (लू) बाट समेत प्रभावित बन्ने प्राधिकरणले उल्लेख गरेको छ ।
साभारःकान्तिपुर दैनिक ।


