तानसेनस्थित एक विद्यालयको क्यान्टिनमा आगलागी हुँदा चार जना विद्यार्थी घाइते भएका छन्। बिहीबार दिउँसो दिवा खाजा खुवाउने क्रममा ग्यासको पाइप लिक भई आगलागी हुँदा मिलेनियम माध्यमिक विद्यालयको कक्षा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका हुन्।
घाइते हुनेमा तानसेनका सचिता बानु, पर्सुजा दङ्गाल, अनुष्का कुमाल र आरन्या शाक्य रहेको प्रहरीले जनाएको छ। उनिहरूमध्ये बानु गम्भीर घाइते छन भने उनलाई तानसेनस्थित मिसन अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ। अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईका अनुसार बानुको शरीर ३० देखि ३५ प्रतिशत जलेको छ।
अन्य तीन जना बालिकालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उनिहरूको कपाल डढेको छ भने हात र खुट्टामा सामान्य चोट लागेको छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । बिहीबार दिउँसो विद्यालयमै खाजा खुवाउने क्रममा ग्यासको पाइप लिक भएर एक्कासि आगलागी भएको सो विद्यालयका प्रिन्सिपल महेन्द्र पोखरेलले बताए ।
अभिभावकले भने एउटै कोठामा खाजा पकाउने र खुवाउने गर्दा बालबालिका अनाहकमा आगलागीको जोखिममा परेको गुनासो गरेका छन्। खाजा बनाउने र खुवाउने कोठा एउटै भएकाले खाजा खान नजिकै बसेका बालबालिका जलेको अभिभावकहरूको भनाइ छ।
