सात मधेसकेन्द्रित दल सम्मिलित सङ्घीय लोकतान्त्रिक मोर्चा रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनको तयारीमा जुटेको छ। सात दलको तर्फबाट साझा उम्मेदवार तय गर्ने गरी मोर्चाले छलफल अगाडि बढाएको छ। मोर्चाले यसमाथिको छलफलको प्रारम्भ गरेको छ। तर, निर्णय भने गरिसकेको छैन। यसमाथि थप छलफल गर्दै जाने र साझा उम्मेदवार तय गर्ने प्रयत्न गरिने मोर्चाको एक घटक राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जानकारी दिए।
‘मोर्चाका तर्फबाट हामीले साझा उम्मेदवार चयनको प्रयास गर्नेछौँ। त्यसका लागि आवश्यकताअनुसार उपयुक्त समयमा छलफल गर्नेछौँ। त्यसका लागि छलफल गरेका थियौँ,’ नेता झाले भने, ‘अब निरन्तर छलफल गर्दै जानेछौँ।’
बैठकमा उक्त अजेन्डा सेट गरिएको छ। त्यस क्रममा सबै दलका नेताहरूले उक्त अजेन्डालाई स्वागत गरेका छन्। सँगै दलहरूले आकाङ्क्षासमेत व्यक्त गरेका छन्। आकाङ्क्षा व्यक्त गर्ने दलहरूमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी छन्। आकाङ्क्षी-पार्टी बुझ्ने काम भएको नेताहरूले बताएका छन्। अब यसमाथि थप छलफल गर्दै जाने नेताहरूले बताएका छन्।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषलाल नेतृत्वको तराई-मधेस लोकतान्त्रिक पार्टी छन्।
बैठकमा पनि तत्तत् नेताहरू उपस्थित थिए। उनीहरूले साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति जनाएका छन्। तर, दाबेदारी भने मुख्यत: चार दलहरूले प्रस्तुत गरेका छन्। जसमध्ये गएको निर्वाचनमा समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टीले ६ हजार १०, जनता समाजवादी पार्टी नेपालले ५ हजार २९१, लोकतान्त्रिक समाजवादी पार्टीले ५ हजार ५३ र जनमतले ३ हजार ७३२ मत ल्याएका थिए।
