रुपन्देहीको सियारी गाउँपालिका–३ लक्ष्मीपुरमा करिब ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको आरसीसी सडक तीन महिना नपुग्दै बिग्रिएपछि गुणस्तरमाथि प्रश्न उठेको छ । गाउँपालिकाको बजेटमा प्रिमियम कन्स्ट्रक्सन,काठमाडौंले गत वैशाखको दोस्रो सातातिर निर्माण सम्पन्न गरेको थियो ।
दुई खण्डमा बनाएको उक्त सडकमध्ये ९० मीटरको खण्ड सामान्य अवस्थामा छ । तर, ७५ मीटरको खण्ड भने ठाउँ–ठाउँमा बिग्रिएको छ । सडकको माथिल्लो सिमेन्टको सतह उप्किएको छ । बाटोको गिट्टी,मिस्कट देखिएको छ ।
कतिपय ठाउँमा कोट्याउँदा गिट्टीसमेत निस्किने अवस्था छ । सडक बिग्रिएको जानकारी दुई महिनादेखि गराए पनि सम्बन्धित निकायले कुनै पहल नगरेको स्थानीय उपभोक्ताले दावी गरेका छन् ।
स्थानीय सोमनाथ यादवका अनुसार सडक निर्माणकै क्रममा गुणस्तरबारे शंका लागेपछि प्रश्न उठाइएको र गाउँपालिकालाई समेत जानकारी गराइएको थियो । गाउँपालिकाले गुणस्तर परीक्षणपछि मात्र अन्तिम भुक्तानी गर्ने बताएको थियो । तर, स्थानीयले भने आवश्यक गुणस्तर परीक्षण नभएको आरोप लगाएका छन् । सुभास कुर्मी भन्छन्-सडक निर्माणको गुणस्तरबारे प्राविधिक परीक्षण हुनुपर्छ र गुणस्तरहीन हुँदाहुँदै भुक्तानी दिनेहरुमाथि पनि कार्वाही हुनुपर्छ ।
