अमेरिकी सेना दुई दशकपछि इराकबाट फर्किएको छ । सन् २००३ मा तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले इराकमा सैन्य उपस्थिति जनाउँदै शिया–नेतृत्वको सरकार गठन गरेको थियो । सन् २०११ को अन्त्यमा फिर्ता भएको अमेरिकी सेना तीन वर्ष पनि नपुग्दै अमेरिकी सेना फेरि इराक फर्कियो । यस पटक सन् २०१४ देखि २०१७ सम्म चलेको ठूलो युद्धमा इराकी सेनालाई सुन्नी उग्रवादी समूह इस्लामिक स्टेट (आईएस) लाई पराजित गर्न भन्दै सहयोग गर्न अमेरिकी सेना फर्किएको थियो । त्यसको एक दशकपछि अमेरिकी सेनाले इराकको उपस्थिति पूर्णरुपमा अन्त्य गरेको हो ।
सन् २०१४ मा आईएसले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यसविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन सेना दुवै देशमा पुगेका थिए । उक्त समूहले ठूलो संख्यामा मानिसको हत्या र विभिन्न हिंसात्मक गतिविधि गरेको थियो । इराकमा इस्लामिक स्टेट सन् २०१७ र सिरियामा सन् २०१९ मा पराजित भए पनि समूहका बाँकी लडाकुविरुद्ध कारबाही गर्न गठबन्धन सेना इराकमा बस्दै आएका थिए । दुई दशकमा ४,५०० अमेरिकी सैनिकको मृत्यु भएको छ ।
इराक र अमेरिकाबीच सन् २०२४ मा दुई वर्षभित्र गठबन्धनको सैन्य उपस्थिति अन्त्य गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार नै अमेरिकी सेनाको अनिन्म डफ्फाले बुधबार इराक छाडेको हो । सहमतिपछि गठबन्धनका सैनिकले देशभरका विभिन्न सैन्य आधार छाड्दै आफ्नो उपस्थिति उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित गरेका थिए । त्यहाँबाट पनि उनीहरूको अन्तिम फिर्ती बुधबार हुने तय गरिएको छ । इराकी सरकारले गठबन्धन सेना फिर्ता भएपछि इरानसमर्थित सशस्त्र समूहहरूले आफ्ना हतियार राखिराख्न प्रयोग गर्दै आएका कारण समाप्त हुने अपेक्षा गरेको छ ।
इराकका प्रधानमन्त्री अली अल–जैदीले गठबन्धन सेना फिर्ता भएको भोलिपल्ट अर्थात् १ अक्टोबरलाई ‘सम्प्रभुता दिवस’का रूपमा बनाउने घोषणा गरेका छन् । सरकारका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरूले पनि गठबन्धनको फिर्तीले इराकको पूर्ण सम्प्रभुतातर्फको यात्रा अघि बढेको बताएका छन् ।
सरकारले राज्यको नियन्त्रणबाहिर रहेका हतियारको विषय समाधान गर्नुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री जैदीले सशस्त्र समूहहरूले आफ्ना हतियार राज्यलाई बुझाउनुपर्ने बताउँदै आएका छन् । तर केही शक्तिशाली समूहले हतियार त्याग्न अस्वीकार गरेका छन् । ती समूहहरूले विदेशी सेना फिर्ता हुनुपर्ने मात्र नभई अमेरिकाको राजनीतिक तथा आर्थिक हस्तक्षेप पनि अन्त्य हुनुपर्ने माग राखेका छन् । शक्तिशाली सशस्त्र समूह काताइब हिज्बुल्लाहले अमेरिकी नेतृत्वको सेना फिर्ता हुनु पूर्ण राष्ट्रिय सम्प्रभुतातर्फको सुरुवात भएको बताएको छ ।
इस्लामिक स्टेटविरुद्धको युद्धका क्रममा अमेरिकी नेतृत्वको गठबन्धन र इरानसमर्थित सशस्त्र समूह दुवैले मिलेर लडेका थिए । तर इस्लामिक स्टेट पराजित भएपछि इराकमा विदेशी सेनाको उपस्थितिलाई लिएर दुवै पक्षबीच विवाद बढ्दै गएको थियो ।
इरान र समर्थित लडाकु समूहहरूले अमेरिकी सेनालाई हटाउन माग गर्दै ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गरेका थिए । त्यसको जवाफमा अमेरिकी सेनाले पनि विभिन्न स्थानमा प्रतिकारात्मक कारबाही गरेको थियो ।
यसैबीच, कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलका बासिन्दा गठबन्धन सेना फिर्ता भएपछि ड्रोन आक्रमणबाट आफ्नो सुरक्षा कसरी हुने भन्ने विषयमा चिन्तित देखिएका छन् । गठबन्धनले यसअघि नै यसै वर्ष सिरियाबाट आफ्नो सेना फिर्ता गरिसकेको छ ।
इरानले अमेरिकी सेनालाई सम्पूर्ण मध्यपूर्वबाट हटाउनु आफ्नो अन्तिम लक्ष्य रहेको बताउँदै आएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका उपाध्यक्ष अमिर हयात मोकद्दमले अमेरिकीहरू इराक र क्षेत्रबाट बाहिरिएपछि इराकमा दीर्घकालीन सुरक्षा कायम हुने दाबी गरे । ‘इरानले इराकबाट अमेरिकी सेना फिर्तीको स्वागत गर्छ र निःसन्देह यसको समर्थन गर्नेछ । प्रतिरोध समूहहरूले अहिले अमेरिकी सेनाविरुद्ध कहिलेकाहीँ आक्रमण गर्ने र सामना गर्ने कार्य गरिरहेका छन्,’ उनले इरानको संसद्को समाचार सेवासँग भने ।
वासिङ्टनले भने इरानसमर्थित इराकी मिलिसिया समूहहरूलाई तेहरानको निर्देशनमा छिमेकी देशहरूमा आक्रमण गरेर व्यापक मध्यपूर्व द्वन्द्वमा भूमिका खेलेको आरोप लगाएको छ । यसै महिना साउदी अरबको एउटा प्रमुख तेल पाइपलाइनमा भएको आक्रमणमा पनि उनीहरूको संलग्नता रहेको अमेरिकाले जनाएको छ ।
इराकको संघीय सरकार र अर्धस्वायत्त उत्तरी कुर्द क्षेत्रमा रहेका केही इराकी सुरक्षा अधिकारीहरूले अमेरिकी सेना फिर्ता हुँदा इस्लामिक स्टेटका लडाकुहरूलाई फेरि सक्रिय हुने अवसर मिल्न सक्ने बताएका छन् ।
कुर्द कमान्डर सिरवान बार्जानीले अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेना सेप्टेम्बरको अन्त्यसम्म इराकबाट औपचारिक रूपमा फिर्ता हुने खबर सार्वजनिक भएपछि पछिल्ला दुई साता इस्लामिक स्टेटका गतिविधि बढिरहेको बताए । ‘मेरो विचारमा, यसले उनीहरूको मनोबल बढाएको सहयोग र ड्रोनको अभावले इस्लामिक स्टेटलाई पुनर्गठित हुने अवसर दिन सक्छ ।’
उनले भने, ‘अन्तर्राष्ट्रिय गठबन्धन सेप्टेम्बरको अन्त्यसम्म इराकबाट औपचारिक रूपमा फिर्ता हुनेछ भन्ने कुरा सार्वजनिक भएपछि पछिल्ला दुई साताभन्दा बढी समयदेखि इस्लामिक स्टेटका गतिविधि नियालिरहेका छौं । मेरो विचारमा, यसले उनीहरूको मनोबल बढाएको छ ।’
इराकी सुरक्षा निकायले अमेरिकी सेना फिर्तीको समय पारेर इस्लामिक स्टेटले आत्मघाती हमला गर्ने आशंका गरेका छन् । रणनीतिक तेल सहर किर्कुकका वरिष्ठ सुरक्षा अधिकारी कर्नेल खालिद अल–बयातीले भने, ‘इस्लामिक स्टेटले आफू अझै शक्तिशाली छ र रक्तपातपूर्ण आक्रमण गर्न सक्षम छ भन्ने सन्देश दिन खोजिरहेको छ ।’
