पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको मिलनविन्दु पृथ्वीचोकमा बिहीबार बिहानदेखि अतिक्रमित संरचना हटाउन थालिएको छ । पृथ्वीचोकबाट नयाँबजारतर्फ जाने हङकङ बजारअगाडि विभिन्न सङ्घसंस्थाका भवन भत्काउने काम सुरु गरिएको हो ।
विभिन्न सरकारी संस्थानका जग्गामा नेपाली कांग्रेस र नेकपा (एमाले) निकट मजदूर सङ्गठनहरूले भवन निर्माण गरी कार्यालय सञ्चालन गर्नुका साथै भाडामा समेत लगाउँदै आएको पाइएको छ । सोही क्षेत्रमा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र सामुदायिक प्रहरी सेवाका बहु–तले भवनसमेत रहेका थिए ।
बिहीबार बिहान ११ बजेबाट दुई वटा डोजर परिचालन गरी ती संरचना भत्काउन थालिएको हो । महानगर प्रमुख धनराज आचार्यले उक्त क्षेत्रमा सडक फराकिलो बनाइने बताए ।

“त्यहाँ बाटोमै भवन बनाइएको थियो । अब डबल लेनको बाइपास सडक निर्माण हुने छ, जसले नयाँबजारतर्फको आवागमन सहज बनाउने छ,” उनले भने ।
मापदण्डविपरीत बनेका ती संरचनामा स्थानीय सरकारकै ठुलो रकम लगानी भएको देखिएको छ । सहारा क्लबले बनाएको शौचालयमा महानगरको १७ लाख रुपियाँ र पोखरा महानगरपालिका–९ को ७० हजार रुपियाँ लगानी भएको शिलालेखमा उल्लेख छ ।
ती संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएकोमा सूचनाको म्याद जेठ ९ गते सकिएको थियो । यसैबिच पोखराको फिर्के खोलाकाे खोलाकाे घर खाली गर्ने अभियान पाँचौँ दिन पनि जारी छ । करिब आठ किलोमिटर लामो फिर्के खोलाको बहाव क्षेत्रमै १६० भन्दा बढी संरचना रहेको बताइएको छ ।
