प्राकृतिक सौन्दर्य र ऐतिहासिक सम्पदाले समृद्ध तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउँदै ‘ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६’ घोषणा गरेको छ। गाउँपालिकालाई ग्रामीण पर्यटनको उत्कृष्ट केन्द्र र स्मार्ट पर्यटकीय सहरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित विभिन्न नीति तथा योजनाहरू सार्वजनिक गरिएका छन्।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार बन्दीपुर बजार क्षेत्रमा मात्र केन्द्रित पर्यटकीय गतिविधिलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न यो विशेष अभियान सुरु गरिएको हो। गण्डकी प्रदेशकै दोस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिने यस क्षेत्रका सबै वडामा रहेका पर्यटकीय स्थलको प्रवर्द्धनका लागि होमस्टेहरूको गुणस्तर वृद्धि गर्न विशेष तालिम दिइने र होमस्टे सर्किट विकास गरिनेछ।
पर्यटकहरूको सुविधाका लागि बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरी डिजिटल क्युआर बोर्ड, पर्यटकीय नक्सा र हिमाल अवलोकन सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।पूर्वाधार विकासतर्फ मणिमुकुन्दसेन पदमार्ग (मिनी ग्रेट वाल), रानीवन पदमार्ग र छिम्केश्वरी क्षेत्रका पैदल मार्गहरूको स्तरोन्नति गरिनेछ। यसमध्ये रानीवन पदमार्गलाई विशेष गरी ‘बर्ड वाचिङ ट्रेल’ का रूपमा विकास गर्ने योजना छ।
धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणलाई तीव्रता दिँदै बाइसे–चौबिसे राजाका पालाका हुस्लाङकोट र चन्द्रकोट गढीहरूको अध्ययन तथा संरक्षण अभियान थालिने अध्यक्ष थापाले बताए। बन्दीपुरलाई साहसिक पर्यटनको हब बनाउन ‘रक क्लाइम्बिङ’, ‘प्याराग्लाइडिङ’, ‘क्यानोइङ’ र ‘साइकलिङ’ जस्ता गतिविधि प्रवर्द्धन गरिनेछ। साथै, नेपालकै ठूलो मानिने सिद्धगुफा, पातालद्वार तथा शङ्खे गुफाको संरक्षण गर्दै कृषि फार्महरूलाई ‘फार्म हाउस स्टे’ का रूपमा विकास गरिनेछ।
ग्रामीण सौन्दर्यीकरणका लागि ‘आफ्नो गाउँ रमाइलो बनाऔँ’ कार्यक्रम अन्तर्गत परम्परागत शैलीका ढुङ्गा छाप्ने र ‘उज्यालो बन्दीपुर’ अभियानलाई निरन्तरता दिइनेछ। पर्यटकको बसाइँ अवधि लम्ब्याउन छिमेकी पालिकासँगको सहकार्यमा मनकामना मन्दिर, गोरखा दरबार र तनहुँसुर जोड्ने ट्रेकिङ रुटको सम्भाव्यता अध्ययन गरिनेछ।
बन्दीपुर बजारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी यसलाई स्मार्ट पर्यटकीय सहरका रूपमा विकास गर्न निजी क्षेत्रको लगानी आकर्षित गर्ने लगानीमैत्री नीति तर्जुमा गरिने गाउँपालिकाले जनाएको छ।
