म्यानमारको तटनजिक दुईवटा डुंगा दुर्घटना हुँदा कम्तीमा पाँच सयजना हराइरहेका राष्ट्र संघले जनाएको छ । सो दुर्घटनामा केही यात्रुले पौडेर ज्यान जोगाएका छन् । ‘ती दुई डुंगा केही दिनअघि म्यानमारको राखाइन राज्यबाट छुटेका थिए ।
डुंगामा मुख्यतया रोहिंग्या यात्रु सवार थिए,’ संयुक्त राष्ट्र संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तीमध्ये केही यात्रु बंगलादेशको कक्स बजारस्थित शरणार्थी शिविरबाट आएका थिए ।’ २५० जना सवार पहिलो डुंगा समुद्रतर्फ लागेको केही समयमै सम्पर्कविहीन भयो । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) र संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर)का अनुसार २८० जना सवार अर्को डुंगा म्यानमारको आयारवाडी तटनजिकै पल्टिएको अनुमान गरिएको छ ।
युएनएचसिआरका एक प्रवक्ताले जनाएअनुसार ती घटना र हताहतको विवरण अझै आधिकारिक रूपमा पुष्टि भइसकेको छैन । साथै, डुंगामा सवार रहेको अनुमान गरिएका व्यक्तिहरूको संख्या विभिन्न स्रोतबाट संकलन तथा आदानप्रदान गरिएको छ । अन्डमन सागर र बंगालको खाडीमा बेपत्ता भएका वा ज्यान गुमाएका भनी रिपोर्ट गरिएका व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको छ ।
रोहिंग्याहरू मुख्यतया बंगलादेशको सीमासँग जोडिएको म्यानमारको राखाइन राज्यका मुस्लिम अल्पसंख्यक समुदाय हुन्, जसले व्यापक उत्पीडनको सामना गरेका छन् र आफ्नै घरबारबाट विस्थापित हुनुपरेको छ । सन् २०१७ मा म्यानमारका सुरक्षाकर्मीद्वारा गरिएको उत्पीडनको अभियानबाट ज्यान बचाएर भागेका १२ लाखभन्दा बढी रोहिंग्याहरू सीमा पार गरी बंगलादेश पुगेका छन् ।
