आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृंखलाअन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाललाई नामिबियाले २१२ रनको लक्ष्य दिएको छ।
सोमबार नेदरल्यान्ड्सको उट्रेक्टमा टस हारेर ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा सात विकेट गुमाउँदै मध्यम लक्ष्य दिएको हो। यद्यपि नेदरल्यान्ड्सको पिचमा नेपालले पछिल्लो दुबै खेलमा दुई सय रन बनाउन सकेको छैन। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध समान १५७ रनमा अलआउट भएको थियो। यी दुबै खेलमा नेपाल पराजित भएको थियो।
नामिबियाको लागि जान फ्रेलिन्कले सतक बनाए। उनले १४९ बलमा ३ चौकासहित सम्हालिएको ब्याटिङ गरे र टिमलाई सम्मानजनक अवस्थामा पु¥याए। सतक बनाएलगत्तै जानलाई नेपाली कप्तान रोहितकुमार पौडेलले रनआउट गरे।
लौरेन स्टिनकाम्पले ५९ रनको योगदान गरे। उनले ८७ बलमा चार चौका र १ छक्का बनाएका हुन्। मालन क्रुगरले १५ रन बनाउनबाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेनन्।
११.१ ओभरमा २ विकेट गुमाएर ३७ रन बनाएको नामिबियालाई लौरेन जानले ठूलो स्कोरतर्फ डोहोराएका थिए। दुई खेलाडीबीच सतकीय साझेदारी भयो। उनीहरुबीच १८२ बलमा १३१ रनको ठूलो साझेदारी भएको हो। यसपछि कुनै पनि खेलाडीले ठूलो साझेदारी गर्न सकेनन्।
नेपालको लागि करण केसीले एक्लै पाँच विकेट लिए। उनले १० ओभर नै बलिङ गर्दा दुई मेडन राखे र मात्र २९ रन खर्चिए। अर्को एक विकेट सोमपाल कामीको नाममा रह्यो। १० ओभर नै बलिङ गरेका कप्तान रोहित र उपकप्तान दीपेन्द्र सिंह ऐरी भने विकेट विहिन भए।
समग्रमा कुनै पनि स्पिनरले विकेट हात पार्न सकेनन्। लेग स्पिनर सन्दीप लामिछानेले ८ ओभरमा ३६ रन खर्चिए। दीपेन्द्रले ३६ तथा रोहितलले ३९ रन खर्चिए। चार ओभरमा १९ रन खर्चिएका गुल्शन झा पनि विकेट विहिन रहे। पार्टटाइम बलर आरिफ शेखले पनि १ ओभरमा ९ रन खर्चिए।
नेपाल नेदरल्यान्ड्स भ्रमणमा रहँदा पछिल्ला दुबै खेल गुमाउन पुगेको छ। ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब नेपालमाथि छ। नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेट तथा पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो।
