मुस्ताङमा पछिल्लो पाँच वर्षको अवधिमा लेक लागेर ५९ जना पर्यटकको ज्यान गएको छ । शरद र वसन्त ऋतुमा सडक र हवाइ मार्ग हुँदै धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि आएका १६ नेपाली र ४३ विदेशीको स्वासप्रस्वासमा समस्या आएपछि उपचार तथा घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार विदेशी पुरूष २८ जना, महिला १५ जना, नेपाली पुरूष १२ जना, महिला ४ जना रहेका छन् । मृत्यु हुनेमा आर्थिक वर्ष २०७८—७९ मा ६ जना, आव २०७९—८० मा १२ जना, आव २०८०—८१ मा १४ जना, आव २०८१—८२ मा १३ जना र चालु आव २०८२—८३ सालमा १४ जना रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताए ।
प्रहरी निरीक्षक बस्यालले भने , ‘‘अचेत अवस्थामा उद्धार गरिएका पर्यटकको उपचारको क्रममा मृत्यु हुने गरेको छ । मृत्यु हुने विदेशीमा अधिकांश भारतीय तीर्थालु रहेका छन् ।’’ लेक लागेर ज्यान गुमाउने तीर्थालु र पर्यटकमा उपल्लो मुस्ताङमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको दामोदरकुण्ड बाहेक अधिकांश मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने र फर्किने तीर्थालु रहेको प्रहरी निरीक्षक बस्यालको भनाइ छ ।
मृतकको उमेर ६४ देखि ८१ वर्ष उमेरका ज्येष्ठ नागरिक, दीर्घरोगी तथा सिजनल रोगबाट ग्रसित भएका धेरै छन् । लेक लागेर बिरामी भएका र सिकिस्तलाई समयमै उपचार गरी घर फर्किनेको सङ्ख्या समेत अत्यधिक छ । समुन्द्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ ।
प्रदेश अस्पताल जोमसोमकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. समिक्षा कँडेलले एकै पटक निकै उचाइमा जाँदा लेक लाग्ने सम्भावना अधिक हुने बताइन । दीर्घरोगीले स्वास्थ्य परीक्षण गरेर मात्रै उच्च भेगमा जानुपर्ने, शरीरमा असहज भएमा तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने डा. कँडेलको भनाइ छ ।
प्रदेश अस्पतालसहित मुक्तिनाथ मन्दिरमा हाइ अल्टिच्युड उपचार केन्द्रका साथै हरेक गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा समेत लेक लागेर बिरामी भएकाहरूलाई लक्षित गरी प्राथमिक उपचारका उपकरणसहित औषधी सुविधा रहेको छ ।
सडक सञ्जालको सहजतासँगै पछिल्लो समय ट्राभल एजेन्सीले छोटो प्याकेजको नाममा एकै दिन लोमन्थाङ, तिब्वतसँग सिमाना जोडिएको कोरला नाकासम्मको यात्रा गराउँदा होडबाजीले समेत पर्यटकलाई असर गरेको छ ।
मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्मा का अनुसार पर्यटकको हेल्चेक्राइ, पर्यटन व्यवसायीको प्रतिस्पर्धाका कारण लेक लाग्ने समस्या न्यूनीकरणका अभियानलाई असर गरेको छ ।

टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हो भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नु पर्ने र आराम गर्ने, पानी वा झोलिलो खानेकुराहरू खानुपर्ने र शरीरमा असहज महुसस भए तत्काल आफुँ भएकोभन्दा तल्लो क्षेत्रमा फर्किएर स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।
समयमै लेक लागेकाहरूले सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा निको हुने भए पनि हेल्चेक्राइ गरी लेक लागेको क्षेत्रमै बसेमा वा माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निने चिकित्सकको भनाइ छ ।
हरेक वर्ष लेक लागेर ज्यान गुमाउने पर्यटकको सङ्ख्या न्युनीकरणका लागि बेनी–जोमसोम सडक खण्डको मुस्ताङ प्रवेशद्वारा घाँसामा सचेतनामुलक जानकारीसहित मुक्तिनाथ मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय मार्फत कार्यक्रमहरू गरिँदै आएको छ ।
