दुई हजार नौ सय वर्षदेखि किंवदन्ती, पुराण र इतिहासका पानामा सीमित रहेको पौराणिक मोक्षमार्ग अब पुनर्जीवित हुने भएको छ । बाग्मती प्रदेश सरकारले शिव सर्किट परियोजना अघि बढाउँदै १० जिल्लाका ६४ प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक सर्किटमा जोड्ने अभियान सुरु गरेको हो ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार परियोजनाको कुल लागत एक खर्ब ९३ अर्ब रुपियाँ अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास तथा भवन कार्यालय सिन्धुली, काठमाडौँ र काभ्रेपलाञ्चोकका लागि चार करोड २० लाख बजेट विनियोजन गरी तीन गुणा स्रोत सहमति दिइएको छ ।
ती कार्यालयहरूबाट केही स्थानमा नमुना कार्यक्रम कार्यान्वयन गर्ने गरी आवश्यक तयारी गरिएको छ । जस अन्तर्गत सिन्धुलीस्थित शिव सर्किटको प्रथम तपोभूमि यात्रा सुरु हुने विन्दु आदिलिङ्ग कुशेश्वर महादेवमा पाँच करोड ७६ लाख रुपियाँको लागतमा काम सुरु भइसकेको छ । दुम्जाको डिपिआरअनुसार उक्त क्षेत्रमा मात्र करिब २४ करोड रुपियाँ लागत अनुमान गरिएको छ ।
बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले प्रदेश सरकारले १० जिल्लामा रहेका ६४ वटा शिवलिङ्गलाई पर्यटकीय माध्यमबाट जोड्न सडक पूर्वाधार बनाइरहेको बताए । यसबाट आर्थिक तथा सामाजिक विकास हुने विश्वास व्यक्त गर्दै उनले यो काम सम्पन्न गर्न केही समय लागे पनि यसले दीर्घकालीन पर्यटकीय सम्भावनाको ढोका खोल्ने स्पष्ट पारे । बजेट व्यवस्थापन गरेर प्रदेश सरकार कार्यान्वयनको चरणमा गइसकेको उनको भनाइ छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि यस परियोजनामा सात करोड ५३ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले ६३ किलोमिटर बाटो स्तरोन्नति गर्न सके बाह्रै महिना यात्रा गर्न सकिने बताए ।
प्रदेश सरकारका अनुसार शिव सर्किटमा काठमाडौँमा २४, ललितपुरमा १०, भक्तपुरमा ९, मकवानपुरमा ७, काभ्रेपलाञ्चोकमा ६, धादिङमा ३, नुवाकोटमा ३, सिन्धुपाल्चोकमा २ तथा सिन्धुली र दोलखामा १–१ शिवालय समेटिएका छन् ।
आवास तथा सहरी विकास महाशाखाका प्रमुख भूपेन्द्रकुमार यादवले इन्जिनियरिङ तथा जिआइएस अध्ययन अनुसार सिन्धुलीको आदिलिङ्ग कुशेश्वरदेखि पशुपतिनाथसम्म सर्किटको कुल लम्बाइ ९५५ दशमलव २७ किलोमिटर हुने जानकारी दिए । यसमध्ये ३४ किलोमिटर पुरानो पदमार्ग संरक्षण गरिने छ भने ६३ किलोमिटर सडक स्तरोन्नति गरिने छ ।
यो सर्किट पूर्वाधार निर्माणको योजना मात्र नभएर स्कन्द पुराणको हिमवत्खण्डमा वर्णित करिब २९ सय वर्ष पुरानो मोक्षमार्गलाई पुनर्जीवित गर्ने प्रयास हो । पुराण अनुसार मातृगमनको महापाप र कुष्ठरोगबाट पीडित विरूपाक्षलाई ने मुनिले ६४ शिवलिङ्गको दर्शन गराउँदै पशुपतिनाथ पुर्याएर पापमुक्त गराएको उल्लेख छ ।
यही महायात्राको पहिलो पाइला सिन्धुलीको सुनकोशी गाउँपालिका–१, नेपालथोक दुम्जास्थित आदिलिङ्ग कुशेश्वर महादेवबाट सुरु हुने धार्मिक विश्वास छ । प्राध्यापक दुर्गाप्रसाद दाहालले नेपालका ६४ ज्योतिर्लिङ्गको परिक्रमा गर्दा कुशेश्वर महादेवबाट सुरु हुने बताए ।
स्थानीय नहकुल कोइरालाका अनुसार आदिलिङ्ग कुशेश्वरसँग अर्को रोचक जनविश्वास पनि जोडिएको छ । एक किसानकी कैली गाईले दैनिक कुशको झाडीमा दुध चढाउने गर्थिन्, पछि त्यही स्थानमा उत्खनन गर्दा आदिलिङ्ग प्रकट भएको विश्वास गरिन्छ । यही तपोभूमिमा भगवान् शिवले ब्रह्मालाई सृष्टिको ज्ञान दिएको, मार्कण्डेय ऋषिले चिरञ्जीवी हुने वरदान पाएको र विश्वामित्रले गायत्री मन्त्रको उत्पत्ति गरेको धार्मिक मान्यता रहेको छ ।
परियोजना अन्तर्गत सडक, पदमार्ग, विश्रामस्थल र सूचना केन्द्र निर्माण गरिने छ । शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख किरण कार्कीले स्थानीय ढुङ्गा, काठ, माटो र परम्परागत निर्माण सिपको प्रयोग गर्दै ऐतिहासिक स्वरूप संरक्षण गरिने सरकारी योजना रहेको बताए ।
परियोजना प्रभावकारी रूपमा कार्यान्वयन भए धार्मिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्धन, ग्रामीण विकास, स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा समेत उल्लेखनीय योगदान पुग्ने देखिन्छ ।
साभारः गाेरखापत्र दैनिक ।
