कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८, बालपुर गाउँनजिक वाणगङ्गा नदीको बिच भागमा फसेका सात जना युवाको शनिबार दिउँसो सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
नदीमा पौडी खेल्ने क्रममा अचानक पानीको बहाव बढेपछि उनीहरू नदीको बिच भागमा फसेका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुगेर करिब डेढ घण्टाको प्रयासपछि उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
उद्धार गरिएकामध्ये वाणगङ्गा नगरपालिका–४ का १७ वर्षीय सम्राट गिरी, १८ वर्षीय निर्वाचन नेपाली, १७ वर्षीय ज्ञानेन्द्र परियार, कृष्ण तिवारी र मनीष थापा रहेका छन्। त्यसैगरी वाणगङ्गा नगरपालिका–१ का विकल्प रेग्मी तथा वाणगङ्गा नगरपालिका–८ का सुवास घिमिरेको पनि सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धार कार्यका क्रममा सुरक्षाकर्मीले डोरी, रबर बोट तथा अन्य आवश्यक उद्धार सामग्रीको प्रयोग गर्दै नदीमा प्रवेश गरेका थिए। सम्भावित जोखिमलाई मध्यनजर गर्दै घटनास्थलमा क्रेनसमेत तयारी अवस्थामा राखिएको थियो।
अर्घाखाँची क्षेत्रमा भएको वर्षापछि वाणगङ्गा नदीमा एक्कासि पानीको बहाव बढेको जनाइएको छ। नदीमा पानीको सतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले नदी तथा खोलानाला आसपास नजान र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
