चीनको माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढिरहेको भन्दै नेपालतर्फको भोटेकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चीनको जाङ्मु पोर्ट प्रशासनले नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पठाएको सन्देशमा निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको चीनतर्फको बोकु हिमनदीको जलस्तर बढिरहेको उल्लेख गर्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको छ।
‘चिनियाँ अधिकारीहरुले चीनको माथिल्लो क्षेत्रका हिमतालको जलस्तर बढेको खबर पठाएको छ,’ तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाले भने, ‘सन्देश प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारलाई पठाएको हामीलाई जानकारि आएको छ। उनिहरुले पठाएको आग्रहलाई गम्भीर रुपमा लिनुपर्दछ। नत्र ठूलो क्षति हुनसक्छ।’ सन्देशमा बोकु हिमनदीको जलस्तर बढुदा भोटेकोशी नदीमा आकस्मिक बहाव बढ्ने तथा बाढीको जोखिम उत्पन्न हुन सक्ने चेतावनी समेत दिइएको तिमल्सिनाले बताए।
‘माथिल्लो क्षेत्रमा रहेको हिम ताल जलस्तर तीव्र रूपमा बढिरहेको छ। बोकु नदीको जलस्तर पनि छिट्टै बढ्न सक्ने भएकाले बाढीको जोखिम रहेको छ,’ चिनियाँ अधिकारीले पठाएको सन्देशलाई उदृत गर्दै सशस्त्र प्रहरी बल नेपाल न १६ हेड क्वाटर सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक नवराज नेपालले भने, ‘सन्देशमा कृपया आवश्यक सुरक्षात्मक उपाय अविलम्ब अपनाउनुहोस् समेत भनिएको छ।’
चिनियाँ प्रशासनले सीमा नाका, नदी तटीय क्षेत्रका बासिन्दा, स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षात्मक उपाय तत्काल कार्यान्वयन गर्न आग्रह गरेको उनले बताए। उक्त सन्देश प्राप्त भएपछि नेपाली प्रशासन र सुरक्षा निकायले भोटेकोसी नदी तटीय क्षेत्रको अवस्थामाथि निगरानी बढाउनुका साथै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको जनाएको छ।
भोटेकोशी नदी चीनको बोकु हिमनदीसँग जोडिएकाले माथिल्लो क्षेत्रमा हुने तीव्र वर्षा, हिमतालको जलस्तर वृद्धि वा हिमताल फुट्ने जोखिमले तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउने सम्भावना रहने भएकाले यसअघि पनि यस्ता चेतावनीहरू आदानप्रदान हुँदै आएका छन्।
केही दिन अघि चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान ४० बढीको ज्यान गएको थियो। चीनको माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर बढ्दा नेपालको सीमा क्षेत्रमा बाढी जान सक्ने र त्यस्तो ठूलो क्षति पुर्याउन सक्ने भएकोले सर्तकता अपनाउन सचेत गराएको अध्यागमन कार्यालयका प्रमुख तिमल्सिना बताए।
