जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति सात प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोशी, कर्णाली प्रदेशको पहाडी तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भोलि शुक्रबार र पर्सी शनिबार देशभर अधिकांश बादल लाग्नेछ । भोलि देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।
यसैगरी, पर्सी देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
