गत भदौमा ‘जेन–जी’ आन्दोलनका क्रममा चोरी गरिएको सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि प्रहरीले फेला पारेको छ । विश्वविद्यालयको स्वास्थ्य विज्ञान सङ्कायका डिन डा. हेमनाथ जोशीले प्रयोग गर्दे आएको बा. २ झ. २८५९ नम्बरको सरकारी स्कारपियो उनकै निवासबाट गायब पारिएको थियो ।
भदौ २५ गते दिउँसो १२ बजेको समयमा मुखमा मास्क लगाएका ४/५ जनाको समूहले धनगढी उपमहानगरपालिका–५ स्थित डिन जोशीको निवासबाटै स्कारपियो लुटेर गायब पारेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले निरन्तर अनुसन्धान पछि स्वरुप नै परिर्वतन गरिएको अवस्थामा स्कारपियो फेला पारेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार, घोडाघोडी नगरपालिका–२ का अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी समिल तथा फर्निचर उद्योगभित्र स्वरूप परिवर्तन गरिएको अवस्थामा स्कारपियो बरामद गरिएको हो ।
घटनामा संलग्न आरोपमा प्रहरीले कार्कीलाई पक्राउ गरि चोरी सम्बन्धि मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । गाडीको स्वरूप परिवर्तन गरेर अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनाउ तिमिल्सिनाको भनाइ छ । प्रहरीले चोरीमा संलग्न अन्यको खोजी तिब्र पारेको छ ।
