२०७९ माघ ११ गते इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि आफैंलाई आगो लगाएर आत्मदाह गरे। त्यतिबेला काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर एवं हालका प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा आक्रोश पोख्दै लेखका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
आज तिनै बालेन मुलुकको कार्यकारी प्रमुख छन्। तर, बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि उनकै नेतृत्व र नीतिअन्तर्गत चल्ने काठमाडौं महानगरपालिकाको नगरप्रहरीको कठोर व्यवहारका कारण अर्का २५ वर्षीय युवा गणेश नेपालीले आफैंलाई आगो सुम्पेका छन्।
मेयर छँदा राज्यका हरेक तप्का, अंग र सञ्चारमाध्यमहरू असफल भएको भन्दै प्रेमप्रसादको आत्मदाहलाई उनले विद्रोह भनेका थिए। हाल तिनै शाह अहिले मुलुकको प्रधानमन्त्री छन्।
विडम्बना, हिजो आफैँले असक्षम घोषणा गरेको राज्य संयन्त्रको बागडोर आज उनकै हातमा छ। तर, उनकै मातहतको महानगरको नगरप्रहरीले सडकमा रोजीरोटी खोस्न खोज्दा मुगुका कृषि स्नातक गणेश नेपाली वीर अस्पतालको आईसीयू बेडमा जीवन र मरणको दोसाँधमा छटपटाइरहेका छन्।
मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका गणेश कृषि विषयमा स्नातक उत्तीर्ण युवा हुन्। देशमा रोजगारी नपाएपछि विगत दुई वर्षदेखि काठमाडौंमा पठाओ चलाएर परिवार पाल्दै आएका उनलाई बिहीबार महानगरको नगरप्रहरीले सडक छेउमा पार्किङ गरेकै भरमा मोटरसाइकल जफत गर्न खोज्यो।
आफ्ना साना सन्तान र श्रीमती पाल्ने एकमात्र सहारा मोटरसाइकल खोसिने भएपछि उनले रुँदै हारगुहार गरे, तर नगरप्रहरीले सुनेनन्। अन्ततः हार खाएर उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाए।
हिजो प्रेमप्रसादको घटनापछि बालेनले लेखेका थिए, ‘कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सीप सिक्ने र ती सीपको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचना निर्माण गर्नेछ।’
उनले नागरिकलाई नियम पालना गर्न र जनप्रतिनिधिलाई नियम पालना गराउन सफा नियतले अघि बढ्न अपिल गरेका थिए। तर, आज महानगरको नगरप्रहरीले नियमका नाममा देखाएको अमानवीय कठोरताले अर्को निहत्था भुइँमान्छेलाई आत्मदाहको विन्दुमा धकेलेको छ।
हिजो बालेनले राज्यलाई उद्धार र सुरक्षामा असफल भनेका थिए। बिहीबार गणेशको शरीरमा आगो दन्किँदा पनि नगरप्रहरी टोलीले उद्धार गर्नुको साटो आफ्नो गाडी गुडाएर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
६० प्रतिशतभन्दा बढी शरीर जलेर वीर अस्पतालको आईसीयूमा जीवनको लडाइँ लडिरहेका गणेशको उपचारका लागि उनका परिवारले औषधिसमेत उधारोमा किन्नुपरेको छ।
प्रेमप्रसाद आचार्यदेखि गणेश नेपालीसम्म आइपुग्दा राज्यको नेतृत्व फेरियो, बालेन मेयरबाट प्रधानमन्त्री बने। तर, भुइँमान्छेको बाँच्ने संघर्ष, राज्य संयन्त्रको निर्दयी कार्यशैली र नागरिकले भोग्नुपर्ने नियति भने जस्ताको तस्तै छ।
