लामो समयपछि एकै मञ्चमा शीर्ष कम्युनिस्ट नेता देखिएका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा कम्युनिस्ट नेताहरू एकै मञ्चमा उभिएसँगै वामपन्थी दलबिच एकताको विषय पनि चर्चामा आएको छ । मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सहसंयोजक पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका नेताहरू एकै ठाउँमा देखिएसँगै वामपन्थी एकताको विषयको चर्चा चुलिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले एक निर्वाचनको मतपरिणामका आधारमा नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त भएको निष्कर्ष निकाल्न नहुने बताइन । एउटा निर्वाचन परिणामले कम्युनिस्ट दललाई गम्भीर वैचारिक बहस र आत्मसमीक्षाका लागि प्रेरित गरेको उल्लेख गर्दै उनले जनताले दिएको सन्देशलाई स्वीकार गर्दै आन्दोलनलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको बताइन ।
नेकपा (एमाले) का अध्यक्ष ओलीले कार्यगत एकतामार्फत लोकतान्त्रिक तथा वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिदै भने वामपन्थी शक्तिको चरित्रहत्या गर्ने प्रयास भइरहेको बताउदै एमालेका नीति सही रहेको दाबी गर्दै एकता वा एकीकरणका लागि पार्टीका नीतिबारे पुनः छलफल गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालले कम्युनिस्ट शक्तिबिच तत्काल सहकार्य सुरु गर्नुपर्नेमा जोड दिदै कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको र त्यसविरुद्ध वामपन्थीहरू एक हुनुपर्ने बताए ।
नेकपाका सहसंयोजक नेपालले भावनात्मक कुरा गरेर मात्रै कम्युनिस्ट एकता सम्भव नहुने बताउदै कम्युनिस्ट आन्दोलनभित्र देखिएका समस्या र विगतका विसङ्गतिको गम्भीर आत्मसमीक्षा आवश्यक रहेकोमा जोड दिए ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता खनालले कम्युनिस्ट एकताको विकल्प नभएको उल्लेख गर्दै लामो समयपछि दुई ठुला वामपन्थी दलका नेता एउटै मञ्चमा उभिएको , समय र परिस्थितिले एकताको आवश्यकता बढाएको दाबी गरे ।
रमेश रुछेनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार
मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरेको छ । अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ का लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।
