पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा परेर अफगानिस्तानमा कम्तिमा ३६ सर्वसाधारणको मृत्यु भएको छ । त्यस्तै, १ सय ६० जनाभन्दा धेरै सर्वसाधारण घाइते रहेको अफगानिस्तानका अधिकारीहरुले बताएका छन् ।
आइतबार राति पाकिस्तानले अफगानिस्तानका तीनवटा क्षेत्रमा अवाई आक्रमण गरेको थियो । पक्तिया, पक्तिका र कुनार प्रान्तमा आक्रमण गरिएको पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारले बताएका छन् । अफगानिस्तानबाट सशस्त्र समुहहरुले आफ्नो देशमा गरेका धेरैवटा आक्रमणको जवाफस्वरुप यस्तो प्रत्याक्रमण गरिएको दाबी पनि उनले गरेका छन् ।
केही दिनअघि मात्रै पाकिस्तानको कराँचीस्थित अर्धसैनिक बल रेन्जर्सको क्षेत्रीय मुख्यालयलाई लक्षित गरी आक्रमण भएको थियो । उक्त घटनामा तीन सैनिकको मृत्यु भएको थियो ।
त्यस्तै, पाकिस्तानी सुरक्षा बलले तीन आक्रमणकारीलाई मारेका थिए भने घाइते अवस्थामा रहेका अर्का एक आक्रमणकारीलाई पक्राउ गरेका थिए । पाकिस्तानी सेनाले ती आक्रमणकारी अफगानी नागरिक रहेको दाबी गर्दै आएको छ ।
कराँची आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबान(टीटीपी) बाट अलग भएको एउटा समूह जमात–उल–अहरारले लिएको थियो । पाकिस्तानमा प्रतिबन्धित रहेको टीटीपीलाई अफगानिस्तानको तालिवान सरकारले सहयोग गरेको पाकिस्तानको आरोप छ । जबकि, अफगानिस्तानले यसलाई अस्विकार गर्दै आएको छ ।
अफगानिस्तानको तालिवान सरकारका सहायक प्रवक्ता हमदुल्लाह फित्रतले आइतबार रातिको आक्रमणमा कम्तिमा ३६ जना सर्वसाधारणको मृत्यु भएको बताए ।
पाकिस्तानले आफ्नो देशमा क्रूरतापूर्वक सर्वसाधारणको हत्या गरेको भन्दै उसले यस कार्यको निन्दा गरे । उनले पाकिस्तानी सेनाले पक्तिया प्रान्तको चामकानी जिल्लामा एउटा घरलाई निशाना बनाएको बताए । जसमा एक वृद्ध र एक बालकको मृत्यु भएको तथा परिवारका अन्य सदस्यहरू घाइते भएको जानकारी दिए ।
घाइतेहरूको उद्धारका लागि स्थानीय बासिन्दाहरू जम्मा भएका बेला सोही क्षेत्रमा पुनः आक्रमण भएको र कम्तिमा २८ जना गाउँले मारिएको उनले बताए । यस घटनामा १५८ जना घाइते भएका उनले जानकारी दिए ।
उनका अनुसार पक्तिका प्रान्तको जियान जिल्लाको एउटा गाउँमा अर्को घरमा आक्रमण हुँदा महिला र बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । यस्तै, कुनार प्रान्तमा पनि एउटा नागरिकको घरमा आक्रमण भएको थियो । जहाँ मानवीय क्षति नभए पनि करिब ३० वटा चौपाया मरेका छन् ।
पाकिस्तानले तीन साताअघि पनि अफगानिस्तानमा आक्रमण गरेको थियो । २१ फेब्रुअरीमा पाकिस्तानले अफगानिस्तानसँग खुला युद्ध सुरु भएको घोषणा गरेको थियो । यस युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयास भइरहे पनि सफल हुन सकेको छैन । गत अप्रिलमा चीनको मध्यस्थतामा दुबै पक्ष वार्ताको टेबुलमा बसेका थिए । तर त्यसका बाबजुद पनि युद्ध अन्त्य भएन ।
