फिफा विश्वकपको १३औँ संस्करण सन् १९८६ को मे ३१ देखि जुन २९ तारिखसम्म मेक्सिकोमा आयोजना भएको थियो । योसँगै मेक्सिकोले दोस्रो पटक फिफा पुरुष विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बनेको थियो । यो विश्वकपमा एसियाबाट इराक र दक्षिण कोरिया तथा अफ्रिकाबाट अल्जेरिया र मोरक्कोले भाग लिएका थिए । ओसेनिया क्षेत्रबाट भने कुनै पनि राष्ट्रको प्रतिनिधित्व थिएन । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट क्यानडा र मेक्सिको सहभागी थिए ।
दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वे सहभागी थिए । युरोपबाट बेल्जियम, बुल्गेरिया, डेनमार्क, इङ्ल्यान्ड, फ्रान्स, हंगेरी, इटाली, उत्तरी आयरल्यान्ड, पोल्यान्ड, पोर्चुगल, स्कटल्यान्ड, सोभियत संघ, स्पेन र पश्चिम जर्मनी सहभागी थिए ।
इराक, क्यानडा र डेनमार्कको यो पहिलो विश्वकप सहभागिता थियो । हंगेरी र उत्तरी आयारल्यान्ड विश्वकपमा छनोट भएको यो अन्तिम पटक थियो । त्यसयताका विश्वकपमा यी दुई टोलीले सहभागिता जनाएका छैनन् ।
यही विश्वकपबाट सर्वकालीन महान फुटबलर डिएगो म्याराडोनाको उदय भएको थियो । सन् १९८६ को जुन २९ तारिखको साँझ, मेक्सिको सिटीको ‘एस्तादियो आज्तेका’ रंशालामा एक लाख १४ हजारभन्दा बढी दर्शकको गर्जनले आकाश गुञ्जायमान थियो ।
फाइनल खेलको अन्तिम सिठ्ठी बज्दा विश्व फुटबलले एक नयाँ ‘ईश्वर’ पाएको थियो, डिएगो आर्मान्डो म्याराडोना। अर्जेन्टिना र पश्चिम जर्मनीबीचको त्यो फाइनल ऐतिहासिक जितमात्र थिएन, त्यो त खेलाडीको अदम्य साहस र खेलप्रतिको चरम लगावको कथा पनि थियो । सन् १९८६ को विश्वकपले फुटबललाई मनोरञ्जनको उच्चस्तरमा पुर्याएको थियो । समूहगत चरणमा २४ टोलीको सहभागिता र नकआउट चरणमा थपिएको रोमाञ्चकताले गर्दा यो विश्वकप निकै चर्चामा रह्यो ।
कोलम्बियाको बहिर्गमन र अमेरिकी विदेशमन्त्री किसिन्जरको आक्रोश
सन् १९८६ को विश्वकपको आयोजक शुरूमा कोलम्बिया तोकिएको थियो । तर, आर्थिक अभावका कारण कोलम्बियाले आयोजना गर्न नसक्ने भएपछि फिफाले नयाँ आयोजक खोज्यो ।
त्यसपछि, विश्वकप आयोजनाका लागि अमेरिका र क्यानडा बलिया दाबेदार थिए । तर, फिफाको छनोट समितिले मेक्सिकोलाई रोज्यो । मेक्सिकोको छनोट निकै विवादित बन्यो ।
पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले त ‘फुटबलको राजनीति मध्यपूर्वको राजनीतिभन्दा पनि जटिल छ’ भन्दै आक्रोशसमेत पोखेका थिए ।
मेक्सिकोले फिफा अध्यक्ष जोआओ हाभेलांगेसँगको विशेष सम्बन्ध र टेलिभिजन अधिकारको लबिङका कारण यो अवसर पाएको आरोप लागेको थियो । क्यानडाले पनि फिफाको यो निर्णयलाई ‘मजाक’को संज्ञा दिएको थियो ।
भूकम्पको कहर र विश्व फुटबलमा ‘मेक्सिकन वेभ’को जन्म
प्रतियोगिता शुरू हुनुभन्दा आठ महिनाअघि मेक्सिकोमा शक्तिशाली भूकम्प गएको थियो । त्यो विनाशकारी भूकम्पले देशलाई तहसनहस बनायो । विनाशकारी भूकम्पले ३० हजारभन्दा बढी मानिसको ज्यान लियो । यस्तो कठिन परिस्थितिमा विश्वकप नै हुन्छ कि हुँदैन भन्ने ठूलो संशय थियो ।
राष्ट्र नै शोकमा डुबेको अवस्थामा विश्वकप आयोजना गर्नु फलामको च्यूरा चपाउनु सरह नै थियो । तर, मेक्सिकोले गजबको साहस प्रदर्शन गर्यो । भाग्यवश, भूकम्पपछि पनि रंगशालाहरू सुरक्षित रहे । त्यसैले कठिन परिस्थितिमा पनि मेक्सिको विश्वकपको सफल आयोजना गर्दै ‘विश्व शान्तिको वर्ष’को सन्देश दिन सफल भयो ।
यही विश्वकपबाट विश्वभर ‘मेक्सिकन वेभ’ अर्थात्, खेलका क्रममा दर्शकहरूले रंगशालामा लहरै उठेर गर्ने अभिनयको लहर चलेको थियो, जुन आज पनि विश्वभरका स्टेडियममा देख्न पाइन्छ ।
कठिन भौगोलिक अवस्था र खेलाडीको चुनौती
यो विश्वकप खेलाडीका लागि निकै चुनौतीपूर्ण थियो । मेक्सिकोका शहरहरू समुन्द्री सतहबाट निकै उचाइमा थिए । टोलुका त आठ हजार सात सय ३० फिट उचाइमा थियो ।
अन्य स्टेडियम पनि यस्तै उचाइमा थिए । जसले गर्दा खेलाडीलाई श्वास फेर्न र दौडिन कठिनाइ हुन्थ्यो । तापक्रम र आद्रताको फरक–फरक अवस्थाले पनि खेलको लयलाई प्रभावित पारेको थियो ।
म्याराडोना:‘ह्यान्ड अफ गड’देखि ‘गोल अफ द सेन्चुरी’सम्म
यो विश्वकप पूर्णतया डिएगो म्याराडोनाको वरिपरि घुमेको थियो । त्यसैले सन् १९८६ को विश्वकपलाई इतिहासले ‘म्याराडोनाको विश्वकप’ भनेर सम्झन्छ । पेलेपछि उदाएका सबैभन्दा प्रतिभाशाली खेलाडी म्याराडोना यो विश्वकपमा पूर्ण लयमा थिए । यसका अतिरिक्त, सन् १९८२ विश्वकपको तितो अनुभवमा पनि मलम लगाउन चाहन्थे म्याराडोना ।
खासगरी, इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा उनले जे गरे, त्यो आजसम्म पनि फुटबल इतिहासको सबैभन्दा ठूलो बहसको विषय बनेको छ । इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा म्याराडोनाले गरेका दुई गोल विश्व फुटबल इतिहासकै सबैभन्दा चर्चित गोल मानिन्छ ।
एउटा ‘ह्यान्ड अफ गड’ अर्थात्, हातले गरेको गोल र अर्को, मैदानको मध्य भागबाट इङ्ल्यान्डका पाँच डिफेन्डर र गोलरक्षकलाई छक्याउँदै गरेको अविश्वसनीय ‘सोलो गोल’ । पहिलो गोल उनले ‘हात’ले गरेका थिए । त्यो गोललाई पछि उनले थोरै म्याराडोनाको भाग्य र थोरै ‘ईश्वरको हात’को कमाल भनेर परिभाषित गरेका थिए ।
त्यसको केही मिनेटपछि नै उनले ७५ यार्ड दूरीबाट इङ्ल्यान्डका पाँच डिफेन्डर र गोलरक्षक पिटर शिल्टनलाई छक्याउँदै गरेको ‘सोलो गोल’, जसलाई इतिहासकै उत्कृष्ट गोल मानिन्छ । बेल्जियमविरुद्धको सेमिफाइनलमा पनि म्याराडोनाले त्यस्तै जादुमयी प्रदर्शन गर्दै टोलीलाई फाइनलसम्म पूर्याएका थिए ।
प्रतियोगिताभर अर्जेन्टिनाले गरेका कूल १४ गोलमध्ये १० गोलमा म्याराडोनाको प्रत्यक्ष संलग्नता रहेको थियो । उनले केवल गोलमात्र गरेनन्, पुरै विश्वकपलाई नै आफ्नो वरिपरि घुमाए ।
नाटकीय फाइनल र जर्मन खेलाडीको जुझारुपन
फाइनलमा अर्जेन्टिनाले जोसे ब्राउन र जर्ज भाल्दानोको गोलबाट २–० गोलको अग्रता बनाएको थियो । अर्जेन्टिनाको जित निश्चित देखिन्थ्यो । तर, पश्चिम जर्मनी कुनै पनि हालतमा हार मान्न तयार देखिएन ।
रुडी भोलर र कार्ल–हाइन्ज रुमेनिगले सात मिनेटको अन्तरमा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएका थिए । जब खेल अतिरिक्त समयतिर धकेलिने निश्चित भयो, त्यसैबेला फेरि म्याराडोना नायक बनेर अघि आए ।
उनले विपक्षी टोलीको रक्षापंक्तिलाई तोड्दै जर्ज बुरुचागालाई उपलब्ध गराएको त्यो ‘किलर पास’ र बुरुचागाको शान्त फिनिसिङले अर्जेन्टिनालाई ३–२ गोलको अविस्मरणीय जित दिलायो ।
विश्वकपको उपाधि उचालेपछि म्याराडोनाको त्यो भावुक र गौरवपूर्ण अनुहार विश्वभरिका अखबारहरूको मुख्य हेडलाइन बनेको थियो ।
समग्रमा, यो विश्वकप केवल एक उपाधिको लडाइँ थिएन । यो त मेक्सिकोको साहस, जर्मनीको जुझारुपन र म्याराडोनाको एकल कौशलको संगम थियो । जसले सन् १९८६ को विश्वकप हेरे, उनीहरूका लागि त्यो फुटबलको एउटा स्वर्णिम अध्याय थियो, जुन आज तीन दशक बितिसक्दा पनि उत्तिकै ताजा र जीवन्त छ ।
१३औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :
० नयाँ शुरूआत : समूहगत चरणको अन्तिम दुई खेल एकै समयमा शुरू गर्ने नयाँ नियम यही विश्वकपबाट शुरू भएको थियो ।
० गोल्डेन बुट : इङ्ल्यान्डका ग्यारी लिनेकर ६ गोल गर्दै प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने ।
० ब्राजिल–फ्रान्स महाभिडन्त : क्वार्टरफाइनलमा जिकोको ब्राजिल र प्लाटिनीको फ्रान्सबीच भएको खेललाई विश्वकप इतिहासकै उत्कृष्ट खेल मानिन्छ । १–१ गोलको बराबरीपछि भएको पेनाल्टी सुटआउटमा फ्रान्स विजयी भएको थियो ।
० डेनमार्कको सनसनी : पहिलो पटक विश्वकप खेलेको डेनमार्कले समूहगत चरणका सबै खेल जितेर ‘डार्क हर्स’का रूपमा आफूलाई उभ्याएको थियो ।
० १३५ पहेँलो कार्ड : यो विश्वकपमा ५२ खेलमा एक सय ३२ गोल भयो । प्रतियोगितामा आठ रातो र एक सय ३५ पहेँलो कार्ड देखाइयो ।
० अनुशासनको खडेरी : उरुग्वेका जोसे बाटिस्टाले स्कटल्यान्डविरुद्ध खेल शुरू भएको ५६ सेकेन्डमै रातो कार्ड खाएका थिए । विश्वकपको इतिहासमै त्यो सबैभन्दा छिटो रातो कार्ड थियो ।
० प्रशिक्षकलाई नै रातो कार्ड :पाराग्वेका प्रशिक्षक काएतानोले खेलका क्रममा पटक–पटक मैदानभित्र पसेपछि रातो कार्ड पाएका थिए । उनी यसरी विश्वकपको इतिहासमा रातो कार्ड पाउने पहिलो प्रशिक्षक बनेका थिए ।
० इराकको बाध्यता : इरान–इराक युद्धका कारण इराकले एकपटक पनि आफ्नो घरेलु मैदानमा छनोट खेल खेल्न पाएन । इराकका खेलाडी समीर शाकेरलाई त बेल्जियमविरुद्धको खेलमा रेफ्रीमाथि थुकेको आरोपमा फिफाले एक वर्ष प्रतिबन्ध नै लगाएको थियो ।
० पोर्चुगलका खेलाडीको हड्ताल : पहिलो र दोस्रो खेलको बीचमा अभ्यास गर्न अस्वीकार गर्दै पोर्चुगलका खेलाडीले हड्ताल नै गरेका थिए । त्यसैले पोर्चुगल समूहगत चरणबाटै बाहिरिएको थियो ।
० क्यानडा र इराकको सनसनी : पहिलो पटक विश्वकप खेलेको क्यानडा र इराकको उपस्थितिले सबैलाई आश्चर्यचकित पारेको थियो । यद्यपि, यी दुवै टोलीको यात्रा लामो भएन ।
० च्याम्पियनहरूको संयोग : यसअघि विश्वकप जितिसकेका सबै ६ वटा टोली (अर्जेन्टिना, ब्राजिल, इङ्ल्यान्ड, जर्मनी, इटाली र उरुग्वे)ले छनोट चरण पार गरेका थिए । जुन आफैँमा एक कीर्तिमान थियो ।
साभारःलाेकान्तर ।
