चीनको अन्तरिक्ष कार्यक्रमले पुनः एक महत्वपूर्ण चरण पार गरेको छ । चीनको अन्तरिक्ष स्टेशनमा रहेका शेनझौ–२१ र शेनझौ–२३ अभियानका अन्तरिक्षयात्री टोलीबीच औपचारिक ‘ह्यान्डओभर समारोह’ सम्पन्न भएको छ । समारोहमा शेनझौ–२१ टोलीले चीनको अन्तरिक्ष स्टेशनको ‘प्रतीकात्मक साँचो’ शेनझौ–२३ टोलीलाई हस्तान्तरण गरेको छ ।
शेनझौ–२१ टोलीले आफ्ना सबै निर्धारित कार्य सफलतापूर्वक सम्पन्न गरिसकेकाले टोलीका तीन अन्तरिक्षयात्री केही दिनभित्र शेनझौ–२२ अन्तरिक्षयानमा उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्र स्थित तोङफेङ अवतरण केन्द्रमा फर्किने तयारीमा छन् ।
अन्तरिक्षमा आयोजित अभियान हस्तान्तरण समारोहमा बोल्दै शेनझौ–२१ अभियान कमाण्डर चाङ लुले सात महिनाअघि आफूहरूले शेनझौ–२० टोलीबाट सोही जिम्मेवारी लिएको स्मरण गरेका छन् । अहिले अन्तरिक्ष स्टेशन छाड्न लाग्दा आफूलाई भावुकताको अनुभव भएको उनको बुझाइ छ । उनले शेनझौ–२३ टोलीको सामूहिक कार्यक्षमता र ‘तीन शरीर, एक आत्मा’ जस्तै टोली भावना अत्यन्त प्रभावशाली रहेको उल्लेख गरे ।
उनले भने, ‘आज हामी यो साँचो तपाईंहरूलाई हस्तान्तरण गर्दैछौँ । हामी विश्वास गर्छौँ कि तपाईंहरूले अन्तरिक्ष स्टेशनलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्नुहुनेछ । हामी तपाईंहरूको सफल फिर्तीको प्रतीक्षामा रहनेछौँ ।’
प्रत्युत्तरमा शेनझौ–२३ अभियानका कमाण्डर चु याङचुले उक्त साँचोलाई चीनको अन्तरिक्ष स्टेशनको जिम्मेवारी हस्तान्तरणको प्रतीकको रूपमा व्याख्या गरे । उनले शेनझौ–२१ टोलीले आफ्नो विशेष अनुभव खुलेर बाँडेकोमा उनीहरूको समर्पणप्रति सम्मान व्यक्त गरे ।
उनले भने, ‘पछिल्ला सात महिनामा तपाईंहरूले अत्यन्त सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ । अब हामी तपाईंहरूको कार्यशैली र अनुभवलाई अघि बढाउँदै आफ्नो अभियान सफल बनाउनेछौँ ।’
हाल चीनका सम्बन्धित प्राविधिक निकाय तथा अवतरण केन्द्रहरूमा शेनझोउ–२१ टोलीको सुरक्षित फिर्तीका लागि अन्तिम तयारी तीव्र पारिएको छ । स्रोत : सिसिटिभी प्लस ।
