११३ जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि हुँदा २३ जनाको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जापानिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमणबाट पुस यता २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागको परिवारकल्याण महाशाखाको तथ्याङ्क अनुसार पुस यता ११३ जनामा जेई सङ्क्रमण हुँदा २३ जनाको मृत्यु भएको हो। हालसम्म ३६ जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको छ। लुम्बिनी प्रदेशमा सबै भन्दा बढी पुष्टि भएको छ। लुम्बिनी ३७, बागमती १८, कोशीमा १७, गण्डकीमा १६, सुदुरपश्चिममा ९ र कर्णली प्रदेशमा दुई जनामा जेईको सङ्क्रमण पुष्टि भएको छ।

त्यस्तै, मृत्यु हुनेमा कोशीमा तीन, मधेशमा तीन, बागमतीमा चार, गण्डकी प्रदेशमा चार, लुम्बिनी प्रदेशमा आठ र सुदूरपशिचममा एक गरेर २३ जना जेई सङ्क्रमितको मृत्यु भएको छ।जापानिज इन्सेफलाइटिसको सङ्क्रमण साउनदेखि कार्तिकसम्म बढी हुन्छ। यो रोगको मृत्युदर उच्च छ। सङ्क्रमित मध्ये १५ देखि ३० जनाको मृत्यु हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनकी नेसनल सर्भिलेन्स अधिकृत डा. सोनिया भगतका अनुसार जापानिज इन्सेफलाइटिस भाइरस वा ब्याक्टेरीयाले लाग्ने मस्तिष्क सङ्क्रमण (मस्तिष्क ज्वरो) हो।यो रोगले स्नायुमा असर पुर्‍याइ जीवनभर अङ्गभङ बनाउनुका साथै बिरामीको मृत्यु हुने गर्छ। उहाँका अनुसार यदि यो रोग गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षघात हुने, बेहोस हुने र कोमामा जाने जस्ता लक्षण देखिने गर्छन्।

यो रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यो प्रजातिको लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्छन्। लाखखुट्टेले सङ्क्रमित सुँगुर, बङ्गुर वा चरालाई टोकेर मानिसलाई टोक्दा यो रोग सर्ने डा. भगत बताउछिन्।

यो रोग लाग्नबाट बच्न झुल प्रयोग गरेर सुत्ने, घर बाहिर जाँदा लामो बाहुला भएको लुगा लगाउने, लामखुट्टे धपाउने मलम लगाउने, घरभित्र लामखुट्टे धपाउने धूप वा स्प्रे प्रयोग गर्ने, घर तथा घर वरिपरि पानी जम्न नदिने, घर नजिकको झाडी तथा फोहोर हटाउने। पानी भण्डारण गर्ने भाँडा छोपेर राख्ने गर्नुपर्छ।

चिकित्सकका अनुसार यो रोगको निश्चित उपचार नभए खोप लगाएर रोग लाग्नबाट बच्न सकिन्छ। यो नियन्त्रण गर्न सरकारले जापनिज इन्सेफलाइटिस विरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेर १२ महिनासम्मका बालबालिकालाई निःशुल्क वितरण गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *