मनसुनमा वर्षाभन्दा तातो बढी

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली भित्रँदै कमजोर रहेकाले सुरुवाती चरणमै राम्रो वर्षा गराउन सकेको छैन । कोशी प्रदेशबाट फैलँदै सोमबार गण्डकी प्रदेशसम्म पुगे पनि यी भेगमा समेत राम्रो वर्षा हुन नसकेको हो । मनसुन बलियो नहुँदा बदली लागेका स्थानमा पनि तापक्रम कम हुन सकेको छैन । केहीबेर घाम लाग्दाको अवस्थामा काठमाडौँ र आसपासका पहाडी जिल्लामा समेत अत्यधिक गर्मी महसुस गरिएको छ ।

कमजोर रहेको मनसुन गत शुक्रबार नेपालको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको हो । कमजोर उपस्थितिकै कारण भित्रन पनि सरदर मितिभन्दा छ दिन ढिला गरी नेपाल आएको मनसुन अहिले पनि कमजोर अवस्थामै देश विचरण गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको दोस्रो मनसुन विशेष बुलेटिनमार्फत जनाएको छ । त्यसैले पनि देशव्यापी रूपमा फैलन अझै केही दिन लाग्ने विभागले औँल्याएको छ ।

नेपाल भित्रिएको चौथो दिनमा मनसुन गण्डकी प्रदेशमा प्रवेश गरेको मौसमविद् डेविड ढकालले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशको सबै भूभागबाट पश्चिम सर्दै आएको मनसुन मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनीको केही छेउ हुँदै अगाडि बढ्न अग्रसर रहेको छ । कोशी, मधेश र बागमती प्रदेशको पूरै भूभागमा मनसुनी जलवाष्प फैलिए पनि अगाडिका भूभागमा फैलन समय लाग्ने उनले जानकारी दिए ।

पश्चिममा तापलहर उग्र

मनसुन फैलन ढिलाइ हुँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई भेगमा तापलहर उग्र बन्दै गएको छ । मनसुन फैलिएका प्रदेशमा हल्कादेखि मध्यम वर्षासँगै बदली कायम रहेकाले थोरै शीतल महसुस गरिएको छ । मनसुन नपुगेका भूभागमा भने उच्च तापक्रमसँगै तापलहर बढेको मौसम पूर्वानुमान महाशाखाले औँल्याएको छ । सबैभन्दा बढी तातो नेपालगन्जमा रेकर्ड भएको जलवायु महाशाखाले जनाएको छ । सोमबार सबैभन्दा चिसो मनाङको हुम्देमा ८.३ डिग्री न्यूनतम तापक्रम रहेको छ ।

बाँकेको खजुरामा तापक्रम ४१.५ डिग्री सेन्टिग्रेड  तापक्रम पार गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशका केही भूभागमा पनि अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेड पार गर्ने सम्भावना बढी छ । गत २४ घण्टामा सबैभन्दा बढी स्याङ्जामा ११८.८ मिलिमिटर वर्षा भएको छ ।

विपतमा १०५ जनाको मृत्यु

गत वैशाख महिनादेखि हालसम्म विभिन्न प्रकारका विपतमा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी २१ जनाको लेक लागेर मृत्यु भएको छ । त्यसपछि आगलागीबाट १६ जना, सर्पदंश र चट्याङ लागेर १४/१४ जना, हावाहुरीबाट १३ जना, जनावर आक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

त्यस्तै बाढीबाट छ, पहिरोबाट चार, भीषण वर्षाबाट तीन, डुङ्गा पल्टेर दुई, वन डढेलोबाट एक र हिउँपहिरोमा परेर एक जनाको मृत्यु भएको जनाइएको छ । यी विभिन्न प्रकारका विपत बाट ६३५ जना घाइते भएका छन् भने तीन हजार १६५ घरपरिवार प्रभावित हुन पुगेको प्राधिकरणले जनाएको छ । वैशाखयता दुई हजार २९२ वटा विपतका घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *