युरोपमा तातो हावाले जनजीवन प्रभावित, फ्रान्समा पौडी खेल्न गएका कम्तिमा ४० जनाको डुबेर मृत्यु

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

युरोपका धेरै देशमा गर्मी अति बढेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ (चेतावनी)  जारी गरिएको छ । अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरु निम्तनसक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ ।  युरोपका कतिपय देशमा गर्मी ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । फ्रान्सका कतिपय स्थानमा मंगलबार ४३ डिग्री सेल्सियसभन्दा बढी थियो ।

बेलायत सरकारले बुधबार र बिहीबार गर्मी उच्च हुने भएकाले सतर्क रहन नागरिकहरुलाई आग्रह गरेको छ । यसै साता मध्यान्ह्को तापक्रम ३९ डिग्रीभन्दा माथि पुग्नसक्ने चेतावनी दिइएको छ । पछिल्ला केही रातको तापक्रम लगातार २० डिग्री सेल्सियसभन्दा माथि छ ।

फ्रान्स, स्पेन र इटलीमा पनि रेड हिट अलर्ट जारी भएको छ । जर्मनी र स्विचरल्यान्डले पनि आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

फ्रान्समा पछिल्ला दिनहरुमा गर्मी छल्नका लागि पौडी खेल्न गएकामध्ये कम्तिमा ४० जना व्यक्तिको डुबेर मृत्यु भएको प्रधानमन्त्री सेवास्टियन लिकोर्नुले जनाएका छन् । उनीहरुमध्ये अधिकांश युवा रहेको लिकोर्नुले बताए ।

सरकारले रोक लगाएका जोखिमपूर्ण क्षेत्रमा पौडी खेल्न जाँदा यस्तो दुर्घटना निम्तिएको अधिकारीहरुले बताएका छन् ।

युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ । वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट सङ्केत भन्दै यस्ता गर्मीका लहरहरु अझ बारम्बार, लामो र तीव्र हुने चेतावनी दिएका छन् ।

अत्यधिक तापक्रमका कारण फ्रान्स सरकारले सङ्कट व्यवस्थापन बैठक समेत आयोजना गरेको छ । देशका एक हजार ३५० भन्दा बढी विद्यालय बन्द भएका छन् भने औसत तापक्रम जुन महिनाकै रेकर्ड तोड्दै २९.२ डिग्री सेल्सियस पुगेको छ । गर्मीको प्रभाव तीव्र बनेपछि ५४ विभागमा रेड अलर्ट जारी गरिएको छ र यसले करोडौँ नागरिकलाई प्रभावित गरेको छ ।

 दक्षिणपूर्वी फ्रान्समा दुई बालबालिका कारभित्र मृत भेटिएको घटनाले थप चिन्ता बढाएको छ । अधिकारीहरूले अत्यधिक गर्मीका कारण यस्तो घटना निम्तिएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेका छन् ।

बेल्जियममा मौसम विभागले आगामी दिनहरूमा अहिलेसम्मकै उच्च तापक्रम पुग्ने चेतावनी दिएको छ । केही विद्यालयले कक्षाहरू छोट्याएका छन् भने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । जर्मनीमा गर्मीका कारण पौडी खेल्न गएका पाँच जनाको मृत्यु भएको छ । यात्रा तथा यातायात क्षेत्रमा पनि असर देखिएको छ ।

एजेन्सीहरू काे सहयाेगमा । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *