दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उनका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरबाहीको आरोप लगाइएको छ ।
शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी भीड आउँदा त्रास फैलियो र घातक दुर्घटना भयो ।
भारतमा यस्ता भीड दुर्घटनाहरू प्रायः ठूलो जमघट र कमजोर सुरक्षा तयारीका कारण हुने गरेका छन् । यसपटक पनि अपर्याप्त प्रहरी उपस्थिति, रूखमा चढेका केही मानिस दर्शकहरू खस्नु र घन्टौँ लामो पर्खाइले दुर्घटनालाई चर्काएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
प्रहरीले विजयको पार्टीका वरिष्ठ सदस्यहरू बुसी आनन्द, जी.आर. निर्मल कुमार र भी.पी. मथियाजगनविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको छ ।वरिष्ठ प्रहरी अधिकारी एस. डेभिडसन देवसिरवथमले भने, ‘मुद्दा दर्ता भइसकेको छ । अनुसन्धानले यसमा संलग्न सबैको पहिचान गर्नेछ ।’
वरिष्ठ जिल्ला अधिकारी एम. थाङ्गावेलका अनुसार मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ, जसमा नौ जना बालबालिका छन् ।विजयले विज्ञप्ति जारी गर्दै भने, ‘मेरो हृदयमा परेको पीडा व्यक्त गर्न शब्द छैन । यो अपूरणीय क्षति हो ।’उनले प्रत्येक मृककका परिवारलाई २० लाख भारु र उपचाररत घाइतेहरुलाई २ लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा विजयले आतंक फैलिनुअघि गर्मीले हायलकायल आफ्ना समर्थकलाई पानीको बोतल फालिदिएको गरेको देखिएको छ । भीड अनियन्त्रित बनेपछि उनले आफ्नो भाषण रोक्नुपरेको थियो ।
राज्य प्रहरी प्रमुख जी. वेङ्कटरमनका अनुसार भीड बिहान ११ बजेदेखि जम्मा हुन थालेको थियो तर विजय साँझ ७ः४० मा मात्र कार्यक्रममा पुगे ।’मानिसहरूलाई तातो घाममा खाना र पानीको अभावमा घण्टौँ पर्खनु पर्यो’, उनले भने ।दश हजार मानिस आउने अनुमान भए पनि झण्डै २७ हजार जनाको उपस्थिति भएपछि अवस्था नियन्त्रणबाहिर पुगेको थियो ।
सभामा पुगेर बँचेका १९ वर्षीय बी. कनिष्कले भने, ‘अचानक भीडले मलाई तल धकेल्यो । म बेहोस भएँ ।’अरू प्रत्यक्षदर्शीहरूले पनि खराब संगठन, लामो पर्खाइ र घटनास्थलमा प्रहरीको अभावले दुर्घटना निम्त्याएको बताएका छन् ।स्थानीय मिडियाले रूखमा चढेका केही समर्थक तल खसेपछि आतंक फैलिएको उल्लेख गरेको छ ।
भारतमा भीड नियन्त्रणमा कमजोरीका कारण यसअघि पनि ठूला दुर्घटनाहरू भएका छन् । यस वर्ष जनवरीमा उत्तर प्रदेशको धार्मिक मेलामा ३० जनाको मृत्यु भएको थियो । गत वर्ष सोही राज्यमा हिन्दु प्रार्थना सभाका क्रममा १२१ जनाको मृत्यु भएको थियो ।यसै वर्ष जुन महिनामा, बेङ्गलुरुमा क्रिकेट उत्सवका क्रममा ११ प्रशंसकले भिडले किचिएर ज्यान गुमाएका थिए ।
विजयले सन् २०२४ मा आफ्नै पार्टी स्थापना गरेका थिए । सन् २०२६ मा हुने तमिलनाडु राज्य चुनावलाई लक्षित गर्दै उनले आयोजना गर्ने प्रत्येक कार्यक्रममा ठूलो भीड जुट्ने गरेको छ ।
