दसैंमा कर्णालीः घुमौं यसपाली

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कर्णालीमा दसैं तिहार मनाउन घरदेखि टाढा रहेका आफन्तहरु फर्किने क्रम जारी छ । कतिपयको फुर्सदको बेला कर्णाली घुम्ने योजना पनि हुन्छ । पछिल्लो समय यातायातको सहज पहुँचका कारण आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि कर्णाली उत्कृष्ट गन्तव्य बन्न पुगेको छ । यहाँका कला संस्कृति, भूगोल, पर्यावरण, जनजीवनसंग साक्षात् गर्न पर्यटकहरु लालायित हुन्छन् ।

कर्णाली यस्तो प्रदेश हो, जहाँ अन्यत्र नभएका विशेषता यहाँ छन् । जसले पर्यटकको ध्यान तान्न सक्छन् । नौलो विषयवस्तुको अध्ययन÷अवलोकन आम मानिसको रुचीको हो । कर्णालीमा यस्तै नौलो दृश्य देख्न पाइन्छ । मुगुमा नेपालकै ठूलो राराताल छ, जहाँ पाइने स्नोट्राउट प्रजातिको माछा अन्यत्र कहीँ पाइँदैन । मौसम खुलेमा तालको पानीमा देखिने सप्तरंगले आगुन्तकलाई मोहित पार्दछ ।

सुर्खेतदेखि करिब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगञ्जबाट सिधै मुगुको ताल्चा विमानस्थल पुगेर दुई घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ । यहाँबाट छायाँनाथ हिमाल अवलोकन गर्न सकिन्छ । राराको अपार सुन्दरताबाट मोहित भएर तत्कालिन राजा महेन्द्रले २०२० सालमा ‘स्वर्गकी अप्सरा’को उपमा दिनुभएको थियो । यहाँ रारामा घोडासवार र बोटिङको आनन्द लिन सकिन्छ । मुर्माटपलाई राराको भ्युटावर भनिन्छ । त्यहाँबाट राराको पूर्ण आकारको फोटो क्यामरामा कैद गर्न सकिन्छ ।

मुगु र हुम्लाको सीमानामा चंखेली हिमाल छ । जुन हिमालको चित्र एक रुपैयाँको नोटमा राखिएको छ । हिन्दु, बौद्धहरुको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ । जीवनमा एकपटक कैलाश मानसरोवरको दर्शन गरेको खण्डमा सबै प्रकारका पापबाट मुक्त भई मृत्युपश्चात स्वर्ग पुगिने धार्मिक विश्वासका साथ वर्षेनि हजारौँको संख्यामा नेपाल, भारत तथा तेस्रो मुलुकबाट तीर्थ यात्रीहरू त्यहाँ पुग्ने गर्दछन् । नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट । यो समुद्री सतहबाट २ हजार ९ सय मिटर उचाइँमा छ ।

सिमकोटबाटै पाँच दिन पैदल हिँडेर लिमी उपत्यका पुग्न सकिन्छ । जहाँ एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ । ११ औँ शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठूला गुम्बा यहाँका मुख्य आकर्षणका केन्द्रबिन्दु हुन् । खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति यहाँका अन्य आकर्षण हुन् । लिमी उपत्यका प्राचीनकालका बहुमूल्य मूर्ति र गुम्बा नै गुम्बाको उपत्यका हो । महँगा मूर्ति, पौराणिक वास्तुकला त्यहाँका थप विशेषता हुन् । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृतिलगायतका वस्तु अति नै लोभ लाग्दा छन् । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार हो ।

डोल्पामा सबैभन्दा गहिरो ताल शेफोक्सेन्डो ताल छ । डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शेफोक्सेन्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा देख्न सकिन्छ । से–फोक्सुन्डोबाट रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपर्युक्त मानिन्छ । माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगलापास क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ । सेफोक्सेन्डोबाट रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो ।

जुम्लाको सिंजा उपत्यका नेपाली भाषाको उद्गम थलो हो । विश्वभर छरिएर रहेका खस नेपाली भाषीहरुलाई प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा कम्तीमा एकपटक सिंजाका लागि आमन्त्रण गर्दैछ । जुम्ला सदरमुकाम खलंगाबजारबाट तीन घण्टाको बसयात्रापछि सिंजा क्षेत्र पुगिन्छ । सिंजा क्षेत्र हुँदै रारा पुग्न सकिन्छ । जुम्लामा कान्जीरोवा, पातारासी हिमाल छन् । यहाँको तातोपानीमा नुहाए स्वास्थ्यलाभ हुने जनविश्वासले मुलुकका विभिन्न स्थानबाट मानिसहरु त्यहाँ पुग्छन् । सदरमुकाम खलंगामा प्रसिद्ध चन्दननाथ मन्दिर छ । विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउले जुम्ला उत्तिकै प्रख्यात छ । कालीकोटको पचालझरनाका साथै पिली क्षेत्र युद्ध पर्यटनले चर्चामा छ । कर्णाली राजमार्गबाट देखिने कर्णालीका सुन्दर बस्तीहरु पर्यटकका लागि थप आर्कषण हुन् ।

दैलेखको दुल्लूमा नेपाली भाषाको पहिलो अभिलेख छ । योभन्दा पुरानो शिलालेख नेपालका अन्य क्षेत्रमा छैन् । शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र दैलेख आउने पर्यटकका लागि पहिलो रोजाइँमा पर्दछ । पञ्चकोशीको शिरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीय हिन्दु पर्यटकहरु आउने गर्छन् । यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ मिथेन ग्यास भएको पुष्टि भएको छ । पेट्रोलियम अन्वेषण परियोजनाले यहाँ विकास पर्यटनको ढोका खोलेको छ ।

दुल्लू क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले धनी छ । दुल्लू बाइसे चौबिसे शासनकालमा छुट्टै राज्य थियो । दुल्लु दरबारको भग्नावेश, पटाङ्गिनी, कीर्तिखम्ब, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, धर्मगद्धी, बालेश्वर यहाँका मुख्य आकर्षण हुन् । पञ्चकोशीको दर्शन गरे जीवनमा पुण्य मिल्छ भन्ने जनविश्वासका कारण कोटिला, शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका क्षेत्रमा तिर्थ जाने चलन छ ।

पञ्चकोशी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । श्रीस्वस्थानी व्रत कथासँग जोडिएका पाँचवटा पवित्र तीर्थ दैलेखमा छन् । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा शिर पतन भएको ठाउँ शिरस्थान, नाभि पतन भएको ठाउँ नाभिस्थान, धुलो पतन भएको ठाउँ धुलेश्वर, पादुका पतन भएको ठाउँ पादुका र कट्टी पतन भएको ठाउँ कोटिलालाई पञ्चकोशी भनिन्छ । शिरस्थान र नाभिस्थानमा अखण्ड ज्वाला छन् ।

दुल्लूमा पुरातात्विक धारा, मठमन्दिर, देवल प्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुराँसे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन् । नेपाली भाषाको उत्पत्ति स्थान जुम्लाको सिंजालाई मानिएपनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दुल्लूमा रहेको छ । सबैभन्दा पुरानो मानिएको दामुपाल, अढाईपालद्वारा शाक्य ९ सय ३ तदानुसार विक्रमसंवत १ हजार ३८ को शिलालेख यसै क्षेत्रमा अवस्थित छ । यसका साथै विक्रम संवत १४१४ को पृथ्वी मल्लले बनाएको ७ हात लामो कीर्तिस्तम्भ पनि यसै क्षेत्रमा रहेको छ ।

पादुकामा रहेको अशोक चल्लको स्तम्भ शिरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीर खम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्व राख्दछन् । तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्त्व बोकेको स्थानको रूपमा लिइन्छ । दैलेख विभिन्न ३६ जातजातिको उद्गम थलोका रुपमा चिनिन्छ । आफ्नो पुख्र्यौली थलो हेर्न दुलाल, नेपाल, खनाल, दाहाल, लम्साल, कोइराला, पराजुली, रुपाखेती, बस्याल लगायत थरका मानिसहरु दैलेखका गाउँबस्ती पुग्ने गर्दछन् ।

प्रदेश राजधानी सुर्खेतको बुलबुले ताल, कांक्रेविहार, देउतीबज्यै मन्दिर, घण्टाघर, बराहताल, गढी बयलकाँडा मुख्य गन्तव्य हुन् । कोहलपुरबाट झण्डै तीन घण्टाको यात्रापश्चात् सुर्खेत पुगिन्छ । सुर्खेत पुगेपछि कर्णालीका सबै जिल्लामा यात्रा तय गर्न सकिन्छ । यहाँ बास बस्नका लागि सुविधा सम्पन्न होटेलहरूको व्यवस्था रहेको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा काँक्रेविहार, बुलबुले ताल, घण्टाघर, शहीद पार्क लगायतका पर्यटकीय स्थल रहेका छन् । बिहानीपख देउती बज्यै मन्दिरमा दर्शनार्थीको भीड लाग्दछ । देउती बज्यै प्रदेशकै मुख्य धार्मिक शक्तिपीठमध्ये एक हो । दोस्रो लुम्बिनीका नामले चिनिने काँक्रेविहारको ढुङ्गैढुङ्गाको अनौँठो कलात्मक शैलीले पर्यटकलाई मुग्ध पार्दछ । रारा, जुम्ला, दैलेख जाने पर्यटकका लागि सुर्खेतका यी स्थानहरु रोजाइँमा पर्दछन् ।

कर्णाली आउने पर्यटकका लागि सुर्खेत ‘ट्रान्जिट प्वाइन्ट’ हो । कर्णालीले विकास पर्यटनको ढोका पनि खोलेको छ । सुर्खेतमा निर्माणाधिन भेरी बबई डाइभर्सन आयोजनाले पनि विकास पर्यटनको सम्भावनालाई उजागर गरिदिएको छ । नेपालमै पहिलोपटक मेसिनबाट सुरुङ खनेर एउटा नदीबाट अर्को नदीमा पानी खसालेर बहुउद्देश्यीय प्रकृतिको आयोजना निर्माण हुन लागेको यो पहिलो आयोजना हो । त्यसैले, भेरी बबई हेर्नकै लागि मुलुकका विभिन्न स्थानबाट शैक्षिक एवं अध्ययन भ्रमणका लागि दिनहुँ आउने गर्दछन् । कर्णालीमा सञ्चालित अन्य ठूला पूर्वाधारका आयोजनाले पनि विकास पर्यटनको सम्भावना बढाइदिएका छन् ।

रुकुम पश्चिममा डिगे्र साइ मन्दिर, स्यार्पु ताल, जाजरकोटको दरबार क्षेत्र तथा सल्यानमा कुभिन्डे दह, छायाँक्षेत्र, खैरावाङ भगवती देवी मुख्य पर्यटकीय स्थल हुन् । यी स्थान आन्तरिक पर्यटकको चाप भइरहने क्षेत्र हुन् । कर्णाली मुलुककै सबैभन्दा लामो नदी र यसको उत्पतिस्थल मानसरोवर भएर प्रदेश प्रवेश गरेको छ । खसहरुका कूलदेवता मष्टोको उत्पत्ति पनि यही मानसरोवर क्षेत्र भएर कर्णाली हुँदै विश्वभर फैलिएको पुराना ग्रन्थ एवं विभिन्न खोज अनुसन्धानमा उल्लेख गरिएको पाइन्छ ।

प्राकृतिक सुन्दरता मात्र होइन्, हिमाली जनजीवन, कलासंस्कृति, भेषभुषा पनि सांस्कृतिक पर्यटनका हिसाबले कर्णाली धनी छ । कर्णालीकै अल्पसंख्यक थारु, राजी समुदायको सुर्खेतमा बसोबास छ । वीरेन्द्रनगर उपत्यकामै थारु संस्कृतिको अवलोकन गर्न सकिन्छ । थारु समुदायले होमस्टे पनि सञ्चालनमा ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *