उरुग्वेमा इच्छा मृत्युलाई कानुनी मान्यताः६० प्रतिशत जनता

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

उरुग्वेकाे संसदले  ऐतिहासिक निर्णय गर्दै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानुनी रूपमा अनुमति दिइएका मुलुकमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देश मध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानुनको इतिहास बनाइसकेको छ । अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छा मृत्यु पनि त्यस सूचिमा थपिएको हो ।

सिनेटमा भएको मतदानमा उपस्थित ३१ मध्ये २० जना सांसदले विधेयकको समर्थन गरेका थिए । तल्लो सदन अर्थात प्रतिनिधिसभाले यसअघि अगस्टमा यसलाई अनुमोदन गरिसकेको थियो । करिब १० घण्टासम्म चलेको गम्भीर र भावनात्मक बहसपछि यो मतदान सम्पन्न भएको हो ।

यसलाई धेरै सांसदले ‘राजनीतिक रूपमा सबैभन्दा कठिन विषय’ भनेका थिए । विधानसभा भवनको ग्यालरीमा उपस्थित दर्शक मध्ये केहीले निर्णयपछि ‘हत्यारा’ भन्दै नाराबाजी गरे पनि बहस प्रायः मर्यादित र सभ्य रहेको थियो । “म अहिले अत्यन्त राहत र खुसी महसुस गर्दैछु”, इच्छा मृत्युका समर्थक फ्लोरेन्सिया सालगुइरोले मतदानपछि भने  ।

उनले आफ्ना दिवङ्गत पिताको पीडादायी अन्तिम दिन सम्झिँदै भने , “मेरो बुवा ल्यु गेहरिग रोगले असह्य पीडा भोग्दै बाँच्न बाध्य भए , तर आफ्नो इच्छा पूरा नगरी नै बिते  ।” ल्याटिन अमेरिकामा इच्छा मृत्युबारे कानुनी मान्यता दिने प्रयासमा उरुग्वे अग्रणी बनेको छ । कोलम्बिया र इक्वेडरमा अदालतले कानुन पारित नगरी नै इच्छा मृत्युलाई अपराधमुक्त गरेको छ भने क्युबाले टर्मिनल बिरामीलाई कृत्रिम जीवन समर्थन अस्वीकार गर्ने अधिकार दिएको छ ।

उरुग्वेको सत्तारूढ वामपन्थी फ्रेन्टे एम्प्लियो पार्टीले विधेयक अघि सारेको थियो, जसले धार्मिक दक्षिणपन्थी समूहबाट कडा विरोधको सामना गर्नु परेको थियो । तर हालैको एक सर्वेक्षण अनुसार देशका ६० प्रतिशतभन्दा बढी नागरिकले कानुनी इच्छा मृत्युलाई समर्थन गरेका छन् भने २४ प्रतिशतले मात्र विरोध गरेका र १६ प्नतिसत तठस्थ रहेका थिए ।

नयाँ कानुनअनुसार वयस्क उरुग्वे नागरिक वा त्यहाँका स्थायी बासिन्दा जसको मानसिक क्षमता ठीक छ र असाध्य रोगको अन्तिम चरणमा छन् तर तिनीहरू निरन्तर पीडामा छन् भने तिनीहरूले चिकित्सकको सहयोगमा आफ्नो जीवन अन्त्य गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *