सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निगरानी संस्था ‘वित्तीय कारबाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाललाई अझै ‘ग्रे लिस्ट’ मा नै राखेको छ । नेपालले सुधारका प्रयास जारी राखे पनि ती अझै अपर्याप्त रहेको भन्दै एफएटिफले ‘ग्रे लिस्ट’ अर्थात् निगरानीकै सूचीमा राखेको हो ।
टिएफले यही असार ५ गते सार्वजनिक गरेको निर्णयमा नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने र स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान आवश्यक रहेको औँल्याइएको छ । एफटिएफले नेपालका सन्दर्भमा जारी गरेको टिप्पणीमा छ मुख्य विषय वस्तुमा सुधार गर्न सुझाव दिएको छ ।
एफएटिएफले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा हुने लगानीको जोखिमबारे नेपालमा अझ स्पष्ट बुझाइ आवश्यक रहेको औँल्याएको छ । आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार गर्ने र त्यसको कार्यान्वयनलाई निरन्तरता दिन भनिएको छ ।
त्यस्तै वाणिज्य बैङ्क, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसाय, घरजग्गा कारोबारलगायतका क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षण गरी सुधारका उपाय अवलम्बन गर्नसमेत एफएटिएफले सुझाएको छ ।
हुन्डी जस्ता गैरकानुनी कारोबारको पहिचान गरी रोकथाम गर्ने, सम्पत्ति शुद्धीकरण मामिला हेर्ने निकायको क्षमता अभिवृद्धि गर्दै सक्षम बनाउने र यससम्बन्धी अनुसन्धान र अभियोजन प्रक्रियालाई थप चुस्त बनाउन आवश्यक रहेको एफएटिएफले औँल्याइएको छ । वित्तीय समावेशीकरणमा समस्या नपर्ने गरी अवैध मुद्रा तथा मूल्य हस्तान्तरण सेवा तथा हुन्डी कारोबार सञ्चालन गर्ने महत्वपूर्ण सेवाप्रदायकको पहिचान गरी उनीहरूलाई कानुनी कारबाही तथा सजाय गर्नुपर्नेमा जोड दिइएको छ ।
जोखिमको प्रकृति अनुसार अपराधबाट प्राप्त आय तथा अपराधमा प्रयोग भएका साधनको पहिचान, खोजी, रोक्का, जफत तथा आवश्यकता अनुसार राज्यको स्वामित्वमा ल्याउने कार्य अझै प्रभावकारी बनाउन भनिएको छ । त्यस्तै कार्ययोजना अन्तर्गत रहेका रणनीतिक कमजोरी हटाई आफ्नो प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप थप प्रभावकारी नेपालका लागि सुझाव दिइएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल विसं २०८१ फागुनमा खैरौ सूचीमा राखेको थियो । त्यसलगत्तै नेपालले एफएटिएफ र एसिया प्यासिफिक ग्रुप (एपिजी) सँग यसप्रति उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो ।
यही जुन १७ देखि १९ सम्म फ्रान्सको राजधानी पेरिसमा एफएटिफको पूर्ण बैठक बसेको थियो ।
