इजरायलले पुनः हवाइ आक्रमण तीव्र पारेसँगै मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ। यसैबीच इरानले रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘हर्मुज जलडमरू’ बन्द गर्ने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, लेबनानमा भइरहेको इजरायली आक्रमणको जवाफमा इरानले यो कदम चालेको हो। यद्यपि, अमेरिकी सेनाले उक्त जलमार्गमा इरानको नियन्त्रण रहेको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग कुनै ठोस सम्झौता नभएमा उक्त ढुवानी मार्गमा अमेरिकाले उल्टै महशुल लगाइदिने चेतावनी दिएका छन्।
यसैबीच तनाव न्यूनीकरणका लागि आगामी आज स्विजरल्याडमा उच्चस्तरीय वार्ताको तयारी गरिएको छ। वार्तामा सहभागी हुन अमेरिकी उपराष्ट्रपति जेडी भेन्स स्विट्जरल्याण्डतर्फ प्रस्थान गरिसकेका छन्। उनले स्विजरल्याडमा अमेरिकाले इरानसँगको वार्ताको रूपरेखा तय गर्ने र आणविक मुद्दाहरूमा प्रगति हासिल गर्न प्रयास गर्ने बताएका छन्।
अर्कोतर्फ, इरानी प्रतिनिधिमण्डल यसअघि नै स्विजरल्याडमा पुगिसकेको छ। तर, इरानले लेबनानको संकटलाई पहिलो प्राथमिकता नदिएसम्म वार्ता अघि बढ्न नसक्ने स्पष्ट चेतावनी दिएको छ।लेबनानमा औपचारिक रूपमा युद्धविरामको घोषणा गरिएको भए तापनि स्थलगत स्थिति भने अझै तनावग्रस्त छ। इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच लगातार भीषण गोलाबारी भइरहेको छ।
विगत दुई दिनमा मात्रै इजरायली सेनाको आक्रमणबाट लेबनानमा दर्जनौँ मानिसको मृत्यु भइसकेको छ। यसलाई वर्तमान द्वन्द्व सुरु भएयताकै सबैभन्दा भयानक र ठूलो रक्तपात मानिएको छ।
