नेदरल्याण्ड्सको सानदार जित, स्वीडेन ५-१ ले पराजित

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले स्वीडेनमाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ । ह्युस्टन स्टेडियममा भएको समूह ‘एफ’ को खेलमा डच टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको नेदरल्याण्ड्सका लागि ब्रायन ब्रोबेले पहिलो हाफमा दुई गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए ।

उनले खेलको ५औं मिनेटमा कोडी गाक्पोको क्रसलाई गोलमा परिणत गर्दै खाता खोलेका थिए भने १७औं मिनेटमा डेन्जेल डमफ्रिजको पासमा व्यक्तिगत दोस्रो गोल थपे । पहिलो हाफमा २-० को अग्रता बनाएको डच टोलीले दोस्रो हाफको सुरुवातमै स्वीडेनको पुनरागमन गर्ने आशलाई समाप्त पारिदियो ।

दोस्रो हाफको ४७औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै अग्रता ३-० पुर्‍याए । त्यसको केही मिनेटमै ५४औं मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ४-० बनाए । गाक्पोको यो गोलसँगै जारी विश्वकपमा गोलको संख्या १०० पुगेको पुग्यो । जुन सन् १९५८ को विश्वकप यताकै सबैभन्दा छिटो १०० गोल पूरा भएको कीर्तिमान हो । स्वीडेनका लागि ५९औं मिनेटमा एन्टनी इलाङ्गाले एक सान्त्वना गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन ।

खेलको अन्त्यतिर ८९औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्ड्सको ५-१ को सानदार जित पक्का गरे । प्रशिक्षक रोनाल्ड कोम्यानले अघिल्लो खेलमा जापानसँग बराबरी भएपछि खेप्नुपरेको आलोचनाको यस जितमार्फत  जवाफ दिएका छन् ।

नेदरल्याण्ड्सको रणनीति र आक्रामक खेलका अगाडि स्वीडेनका रक्षापंक्ति निरिह देखिएको थियो ।यो जितसँगै नेदरल्याण्ड्स ४ अंकका साथ समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । अर्कोतर्फ, पराजित स्वीडेनलाई अब नकआउट चरणमा पुग्नका लागि आफ्नो अन्तिम खेलमा जापानलाई हराउनै पर्ने दबाब बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *